-->
मोटरसाइकल ठोक्किँदा पाँचजना गम्भीर घाइते

गौशाला- महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा एसएलसी परीक्षा दिलाउन गइरहेको दुईवटा मोटरसाइकल आज बिहान एकआपसमा ठोक्किँदा दुई विद्यार्थीसहित पाँचजना गम्भीर घाइते भएका छन्।
जलेश्वर नगरपालिका-१ स्थित रा.वि.म. क्याम्पसअगाडि विद्यार्थी बोकेको ज७प ५४५१ र बा४८प ३६३५ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा दुई विद्यार्थीसहित पाँचजना गंभिर घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

घाइतेहरुमा ज७प ५४५१ नम्बरको मोटरसाइकलमा चढी थरुवाही माविबाट परीक्षा दिन महेन्द्र आदर्श महिला मावि जलेश्वर आउँदै गरेको जिल्लाको नैन्ही-८ बस्ने १८ वर्षीय विकास कुमार मण्डल, उनकी बहिनी विद्यार्थी १६ वर्षीया प्रियङ्का कुमारी र उनकी भाउजू २५ वर्षीया सरिता देवी कापर छन्।

त्यस्तै, बा४८प ३६३५ नम्बरको मोटरसाइकलमा विद्यार्थी बोकी मावि बखरीभाठ गइरहेको जलेश्वर-१ बस्ने २० वर्षीय कर्णकुमार राम र उनले पैदल हिँडेर जाँदै गरेको बालिकालाई ठक्कर दिएको जलेश्वर-५ बस्ने बेचन साहकी छोरी १७ वर्षीया मधुकुमारी साह रहेको प्रहरी उपरीक्षक जनक भट्टराईले बताए।

दुर्घटनामा परी कर्णकुमार राम, मधुकुमारी साह, सरितादेवी कापर र विकासकुमार मण्डल गम्भीर घाइते भएकाले उनीहरुले कर्णकुमार रामलाई विशेष उपचारका लागि भारतको सीतामढी लगिएको छ भने अरूको उपचार महोत्तरी जिल्ला अस्पताल जलेश्वरमा भइरहेको छ। प्रियङ्का कुमारी गम्भीर भएर पनि प्राथमिक उपचारपछि परीक्षा दिन गएकी छन्।

यसैबीच, प्रहरीले दुवै मोटरसाइकल आफ्नो नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार दुवै मोटरसाइकल तीव्रगतिमा रहेको कारण एकआपसमा ठोक्किएको थियो र बाटो हिँड्ने एक छात्रासहितलाई ठक्कर दिँदा उनीसमेत पाँचजना गम्भीर घाइते भएका छन्। 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.