-->
मन्दिरको मुख्य पुजारी दलित महिला

घोराही: पूरै शरीर ढाक्ने पहेंलो वस्त्र । निधारमा पनि पहेंलै फेटा । घाँटीमा सानो गेडाको रुद्राक्ष माला । यी पण्डित होइनन् । यी हुन् मन्दिरका मुख्य पुजारी दलित महिला । कथित ‘उपल्ला' जातिका मानिसले खुट्टा ढोग्दा गेरुवस्त्रधारी ‘माता' उनीहरूको शिरमा हात राखेर आशीर्वाद दिइरहेकी हुन्छिन् । 
 
मन्दिरको मुख्य ढोकामा दलित महिला पुजारी उभिएकी हुन्छिन् । पूजाआजा गराइदिन्छिन् । भक्तजनलाई टीका लगाएर आशीर्वाद दिन्छिन् । सबैको शिरमा उनी हात राखिदिन्छिन् । उनलाई कसैले जातपात सोध्दैन, न उनी नै सोध्छिन् ।
 
उनको नाम हो पार्वती विश्वकर्मा । उमेर ३८ वर्ष । भारतमा जन्मिएकी पार्वती सात महिनाअघि मात्रै नेपाल आएकी हुन् । नेपालमै बस्ने गरी आएकी उनले दाङको घोराही ६ मसिनामा केही जमिन पनि किनिन् । ३ छोरी र श्रीमान्का साथ यहाँ आएकी पार्वतीलाई एक महिनाअघि अचम्मको ‘चमत्कार' भयो ।
 
गाउँको सिरानको गोरेटो बाटोछेउको चट्टानको प्वालमा पहेंलो रङका दुईवटा सर्प देखिए । त्यही बाटो भएर गाउँमा खानेपानीको धारा जोड्दै गरेका गाउँलेले वास्ता गरेनन् । ती सर्प त्यही प्वालभित्र पसे ।
 
पार्वती त्यही बेला नजिकैको खोलामा नुहाउँदै थिइन् । एकाएक उनी सर्पकै तालमा शरीर ढाल्दै बर्बराउन थालिन् । ‘मलाई नफर्काऊ, म स्वर्गद्वारीबाट आएको हुँ, मलाई यहीं बस्न देऊ...' जस्ता शब्द बर्बराउँदै उनी नागबेली शैलीमा लडिबुडी गर्न थालिन् । जुरुक्क उठेर नाग भएको ठाउँमा पूजाआजा गर्न थालिन् । गाउँलेलाई लाग्यो उनको शरीरभित्र ‘नागदेवता' चढेछन् । गाउँलेले मन्दिर बनाइदिने बाचा गरे ।
 
फागुनको अन्त्यतिरबाट सुरु गरिएको मन्दिर निर्माण अहिले लगभग सकिएको छ । मन्दिरलाई ‘नागेश्वर–महादेव पार्वती मन्दिर' नामकरण गरिएको छ । गाउँलेले मुख्य पुजारीका रूपमा उनै पार्वती विकलाई नै तोकेका छन् । ‘यो चमत्कार हामी आफैंले देख्यौं । पहिला त कसैले पनि विश्वास गरेनन्', मन्दिर व्यवस्थापन समितिका सचिव केशव केसीले भने, ‘यस्ता कुराको विश्वास गर्दैनन् तर आँखै अगाडि देखेपछि हामीलाई विश्वास लाग्यो ।'
 
मुख्य पुजारी पार्वती जातभातको कुरा जान्दिनन् । भगवान्प्रति अगाध विश्वास राख्ने उनी भन्छिन्, ‘खै भगवान्ले त यस्तो जातपात बनाएकै छैनन्, मलाई पनि त्यस्तो लाग्दैन । रगत सबैको रातो नै हुन्छ ।' भारतमा २० वर्षसम्म होटेलमा काम गर्दै आएकी उनलाई यसअघि यस्तो घटना कहिल्यै भएको थिएन ।
 
‘नसोचेको भयो । सायद भगवान्ले मलाई चुनेर पठाएछन्', उनले भनिन् । मन्दिर व्यवस्थापन समितिका सचिव केसीका अनुसार गाउँलेले पुजारी महिला र उनको परिवारका लागि बस्ने बासको जोहो गर्नेतर्फ लागेका छन् ।
 
अहिले मन्दिरमा पूजा गर्न दिनहुँ सयौंको भीड लाग्छ । मंगलबार र बुधबार साँझपख नागले दर्शन दिने विश्वासमा मानिसहरू यहाँ आउने गर्छन् ।



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.