चैत्र ३०, २०७२- अमेरिकी राष्ट्रपति बाराक ओबामाले लिबियाली नेता कर्नेल मौमार गद्दाफीको पतनपछिको अवस्थालाई सम्हाल्ने योजना बनाउन नसक्नु आफ्नो कार्यकालको सबैभन्दा ठूलो गल्ती भएको बताएका छन् ।
फक्स न्युजसँग आफ्ना कार्यकालको सबल र दुर्बल पक्षसम्बन्धी प्रश्नहरुको उत्तर दिने क्रममा यस्तो स्विकारोक्ति दिएका हुन् । तर उनले लिबियामा हस्तक्षेप गर्नुचाहिं सही भएको दाबी गरे । अमेरिका र अन्य मुलुकहरुले सन् २०११ को आन्दोलन दौरान सर्वसाधारणलाई जोगाउन भनी सिरियामा आक्रमणसमेत गरेका थिए । तर गद्दाफी मारिएपछि लिबिया मिलिसियाहरुको कब्जामा जानुका साथै दुई समानान्तर सरकार र संसद् बन्न पुगे ।
तथाकथित इस्लामिक स्टेट (आईएस) ले लिबियमा यतिखेर ठूलो प्रभाव राख्छ । साथै विभिन्न युद्धग्रस्त क्षेत्रका शरणार्थीहरु लिबिया हुँदै युरोपतर्फ ओइरिरहेका छन् । राष्ट्रसंघीय समर्थन पाएको राष्ट्रिय एकताको सरकार यसै महिनाको सुरुआतमा राजधानी त्रिपोली आइपुगेको छ तर कार्यभार सम्हाल्न बाँकी नै छ ।
यसैबीच, पश्चिमी लिबियामा शासनरत गुटका नेताले राष्ट्रसंघीय सहायताको प्रशासनलाई सहयोग पुर्याउने कोही पनि आफ्ना मन्त्रीलाई कारबाही गरिने चेतावनी दिइसकेका छन् । उनले यसअघि चाहिं राष्ट्रिय सरकार बनेपछि आफ्ना मन्त्रीहरु पदबाट हट्ने घोषणा गरेका थिए ।
ओबामाले लिबियाका विषयमा खेद प्रकट गरेको यो पहिलोपटक होइन । उनले गत महिना द एटलान्टिक पत्रिकासँग कुरा गर्दै आफूले चाहेअनुसारै कारबाही भए पनि लिबिया यतिखेर भताभुंग भएको बताएका थिए । एक अन्तरवार्तामा उनले लिबियाकै सन्दर्भमा फ्रान्स र बेलायतको आलोचनासमेत गरेका थिए । उनले अन्तर्राष्ट्रिय सैन्य कारबाहीपछि बेलायती प्रधानमन्त्री डेभिड क्यामरुन ‘निराश’ भएको समेत उल्लेख गरे ।
अन्तर्राष्ट्रिय राजनीतिको सबैभन्दा निकटको सहयोगी मुलुकलाई अमेरिकी राष्ट्रपतिले आलोचना गरेको यो दुर्लभ अवसर थियो । यसले डाउनिङ स्ट्रिटलाई क्षुब्ध तुल्याएको थियो ।
ओबामाले आफ्नो सबैभन्दा ठूलो उपलब्धिका रूपमा चरम संकटबाट अमेरिकी अर्थतन्त्रलाई बचाउनुरहेको बताए । उनले आफ्नो राष्ट्रपतीय कार्यकालको सबैभन्दा राम्रो दिनका रूपमा स्वास्थ्य सुधार विधेयक पास भएको दिनलाई चित्रण गरे ।
सबैभन्दा खराबचाहिं स्यान्डी हुक एलिमेन्ट्री स्कुलमा आमहत्याकाण्ड भएको दिनलाई भनेका छन् । उनले बन्दुक स्वामित्वसम्बन्धी कानुनलाई अनुमोदन गर्न नसक्नु आफ्नो सबैभन्दा ठूलो निराशा भएको बताए ।


0 comments
प्रतिक्रिया दिनुहोस्...