२९ चैत, काठमाडौं । पछिल्ला केही दिनमा वन जंगलमा आगो लाग्ने क्रम ह्वात्तै बढेको छ । एकसाताकै बीचमा नेपालको कुल वन क्षेत्र मध्ये २० प्रतिशत क्षेत्रफल अर्थात झण्डै १३ लाख हेक्टर भन्दा बढी वन आगोले सखाप भएको छ ।
धेरै वनमा लागेका आगो अनियन्त्रित छन् । यसले अझै ठूलो विनास गर्ने स्थिति देखिएको छ । आइतबार बेलुकासम्म देशका २ सय ५९ वटा वन क्षेत्रमा ठूला आगो लागिरहेको देखिएको छ ।
वन विभागकाअनुसार मध्यमाञ्चल र पश्चिमाञ्चल क्षेत्रका वनमा ठूला आगो लागेका छन् । कतिपय क्षेत्रका वनको आगो नियन्त्रणमा आइसकेको छ भने अधिकांश वन क्षेत्रमा आगो लाग्ने क्रम रोकिएको छैन ।
सिन्धुली र अर्घाखाँचीका वनको बेहाल
पछिल्लो समय पानी नपरेको र तराई क्षेत्रमा ज्यादा हावाहुरी चलेका कारण वनको आगो नियन्त्रण आउनु भन्दा झन् फैलिँदै गएको वन विभागका महानिर्देशक रेशमबहादुर डाँगीले बताए । यस वर्ष सबैभन्दा बढी सिन्धुलीका वनहरु आगोको चपेटामा परेका छन् । सिन्धुलीको कुल वन क्षेत्रमध्ये ४० प्रतिशत आगोले डढाइसकेको डाँगीले जानकारी दिए ।
‘सबैभन्दा बढी सिन्धुलीको मरिन क्षेत्रका वनहरु डढेलोको चपेटामा परेका छन्,’ उनले भने, ‘वनबाट पसेको आगोले ४० भन्दा घरलाई खरानी बनाइसकेको छ । भिरलो क्षेत्रमा आगो लागेका कारण नियन्त्रण गर्न सकिएको छैन ।’
वन क्षेत्रको आगो अनियन्त्रित भएको अर्को जिल्ला अर्घाखाँची हो । अर्घाखाँचीको २० प्रतिशत वन क्षेत्र आगोले सखाप पारिसकेको छ । अर्घाखाँचीका विभिन्न वनमा लागेको आगो अझै नियन्त्रणमा आएको छैन । अर्घाखाँचीको सिद्धारा वनमा लागेको आगोमा परी ६ सय क्युफिट काठ नष्ट भएको छ । घाटगद्धि गरेर (थुपारेर) राखिएको सरकारी काठमै आगलागी भएको हो ।
सडकको पहुँच नभएको क्षेत्रमा राखिएको काठ जलेकाले बचाउन नसकिएको महानिर्देशक डाँगीले बताए । कपिलवस्तु र आर्खाखाँचीको सीमा क्षेत्रभन्दा पूर्वी भागबाट मध्ये नेपालसम्मका २ सयभन्दा बढी वनहरुमा अहिले आगलागी भइरहेको छ ।
वनस्पतिको नास, वस्तीमा त्रास
रुपन्देहीका वन क्षेत्रमा पनि आगो नियन्त्रणमा आएको छैन । नवलपरासीमा १ सय हेक्टरभन्दा बढी क्षेत्रफलमा आगो लागिसकेको छ भने चितवनका वनहरु पनि आगोको चपेटामा परेका छन् ।
मकवानपुरको उत्तरी भेगमा पनि आगो लागिरहेको छ । दुईदिन अघि मकवानपुरको चित्लाङ क्षेत्रमा लागेको आगो नियन्त्रणमा आएपनि अहिले भीमफेदीको डाँडाका पश्चिम क्षेत्रका वनहरु जलिरहेका छन् ।
रौतहट र पर्सामा पनि विभिन्न वन आगोको सिकार भएका छन् । अछाम, बाँके, बर्दिया, दाङ, कैलाली, काभ्रे, खोटाङ, चितवन, सल्यान, सुर्खेत, गोरखा लगायतका जिल्लामा ५ वटाभन्दा बढी वनमा आगो निभेको छैन । अन्य थुपै्र जिल्लाका वनमा पनि आगो अझै सक्रिय छ ।
इलाम, झापा, सुनसरी लगायतका वन क्षेत्रमा अन्य क्षेत्रभन्दा कम आगलागी भएको छ ।
वनमा लागेको आगोले वरपरका बस्तीमा त्रास फैलिएको छ । कतिपय बस्तीहरुमा क्षति समेत पुर्याइसकेको छ । साना बोट विरुवा र बुट्यानहरु सखाप पारेको छ भने ठूला रुखरुलाई पनि प्रभावित गरेको छ । सयौं क्युफिट काठ र लाखौंका अमूल्य जडीबुटीहरु नष्ट भएका छन् ।
यस्तै वन्यजन्तुले बासस्थान छाडेका छन् भने कतिपय आगोमा परेर मर्ने गरेका छन् । समग्रमा यसले जैविक विविधता र वनकोे प्राकृतिक स्वरुपमा ठूलो क्षति पुर्याउने महानिर्देशक डाँगीले बताए ।
स्वास्थ्यमा समस्या
वनमा आगोलागी भएका क्षेत्रसहित वरपरका भेगहरु अहिले बाक्लो धुँवाले ढाकिएका छन् । यसैकारण बालबालिका, वृद्धबृद्धा, बिरामीहरुलाई स्वास्थ्य समस्या देखिन थालेको छ । धुँवाले ढाकेका क्षेत्रमा आँखा पीरो हुने समस्या छ । मुख्यगरी स्वासप्रश्वासका बिरामीलाई यसले बढी असर गरेको छ ।
सर्वसाधारणमा कारण सचेतनाको कमी रहेका कारण डढेलो ब्यापक भएको वन विभागको भनाइ छ । वनमा सल्काएको चुरोटको ठुटा ननिभाइ फाल्ने त छँदैछन्, नयाँ घाँस आउने र बारीमा मल हुने आशामा जानाजान डढेलो लगाउने गरेको पनि पाइन्छ ।
वन्यजन्तु भागोस् भनेर पनि डढेलो लाउने गरेको देखिएको महानिर्देशक डाँगीको भनाइ छ । यस्तै पाखाबारी खन्न सजिलो हुने आशामा लगाइने आगो खोल्सा हुँदै वनसम्म फैलने गरेको विभागको ठहर छ ।
नियन्त्रण गर्न स्याउलाको भर
डढेलो यो वर्ष मात्रै लागेको हैन । प्रत्येक वर्ष लाखौं हेक्टर वन डढेलोले सखाप पर्दा पनि त्यसलाई नियन्त्रण गर्ने सरकारी तयारी भने शून्य छ । सरकारसँग वनको आगो नियन्त्रणमा लिने एउटा पनि उपकरण र प्रविधि छैन ।
‘अहिले हामी खाली हात छौं । तराई क्षेत्रमा केही वर्ष अघि बाँडिएका ‘वाटर ब्याग’ (२० लिटरसम्म पानी अट्ने झोला) पनि काम नलाग्ने भएका छन्,’ डाँगीले भने ।
अहिलेसम्म पनि नेपालमा स्याउलाले हानेर आगो निभाउने जोखिमयुक्त प्रचलन कायमै छ, जुन ठूलो आगो अगाडि निष्प्रभावी हुन्छ । सामुदायिक र साझेदारी वनका उपभोक्ताले आफ्नो वनमा आगो लाग्दा अझै यही बिधिको प्रयोग गर्ने गरेका छन् ।
अग्नि रेखाको प्रयोग गर्ने प्रचलन पनि सुरु भएको छ । आगो नियन्त्रणका लागि सर्वसाधारणलाई सेना, प्रहरी र सशस्त्र प्रहरीले ठूलो सहयोग गरिरहेको वन विभागले जनाएको छ ।
0 comments
प्रतिक्रिया दिनुहोस्...