-->
जुनी फेर्दैछ बागमती

काठमाडौं- कलकल बगिरहेको नदी। सफा अनि कञ्चन पानीमा चलमलाइरहेका माछा। दुवै किनारमा सुन्दर र मनमोहक बगैँचा। आकर्षक साइकल लेन, चिटिक्क मिलेका विश्रामस्थल। दुवैतर्फ सुन्दर सडक।


यो वर्णनले तपाईंलाई कुनै युरोपेली देशको झल्को आयो होला। तर, यो दृश्य काठमाडौंमै सम्भव हुन सक्छ, पाँच वर्षपछि। सरकारले बागमती नदी क्षेत्रलाई यस्तै रोचक र मनमोहक बनाउने योजना अघि सारेको छ।

बर्खाका चार महिनाबाहेक निकै थोरै मात्र पानी बग्ने बागमतीमा यो कसरी सम्भव छ त?

बागमती सुधार आयोजना प्रमुख आशिषभद्र खनाल भन्छन्, 'पानी सुकेर मृत अवस्थामा पुगिसकेको बागमतीमा बहाब बढाउन सुन्दरीजलको माथिल्लो क्षेत्रमा दुइटा बाँध बनाउन काम अघि बढिरहेको छ।' बाँधमा संकलित पानी बर्खाबाहेकका ८ महिना घुँडासम्म आउने गरी बागमतीमा छाडिने उनले जानकारी दिए।

आयोजना प्रमुख खनालका अनुसार पाँच वर्षभित्र बागमतीको मुहार फेर्न ३ अर्ब ५० करोड रुपैयाँभन्दा बढीको लागतमा सरकारका तीन निकायले धमाधम काम गरिरहेका छन्। एसियाली विकास बैंक (एडिबी) को ऋण तथा सहयोग र सरकारको लगानीमा पाँचवर्षे 'बागमती रिफर बेसिन इम्प्रुभमेन्ट प्रोजेक्ट' अन्तर्गत सुधारकार्य थालिएको उनले जानकारी दिए।

सन् २०२१ भित्र सम्पन्न हुने उक्त परियोजनामा एडिबीको २ अर्ब ५० करोड ५० लाख रुपैयाँ ऋण, ४० करोड ५० लाख रुपैयाँ सहयोग र सरकारको ६० करोड रुपैयाँ लगानी छ।

'बागमतीलाई व्यवस्थित र सुन्दर बनाउन पहिलोचोटि सरकारले तीन निकायलाई जिम्मेवारी बाँडफाँट गरी खटाएको छ,' खनालले भने, 'अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, सिँचाइ विभाग र जल तथा ऊर्जा आयोगले छुट्टाछुट्टै जिम्मेवारी लिएर काम गरिरहेका छन्।'

उनका अनुसार पाँचवर्षे कार्यक्रमको पहिलो चरणमा गोकर्णदेखि सिनामंगल, भत्केको पुलसम्म साइकल लेन तथा बगैंचा बनाइनेछ। बागमती सभ्यता विकास समितिले बागमती तथा आसपास क्षेत्रको सौन्दर्यीकरणसहित नदीलाई दुर्गन्धमुक्त बनाउन ढल व्यवस्थापनका कामसमेत गरिरहेको छ। यसका लागि करिब डेढ अर्ब रुपियाँ छुट्ट्याइएको छ।

आसपास क्षेत्र सिँगारेर मात्र बागमतीको सौन्दर्य नफर्किने भएकाले बाह्रै महिना पानीको बहाब नियमित गर्न सुन्दरीजलभन्दा माथिल्लो क्षेत्रमा दुईवटा ठूला बाँध निर्माण भइरहेको छ। सिँचाइ विभागले पहिलो चरणमा ढाप र दोस्रो चरणमा सुन्दरीजलछेउको नागमतीमा बाँध बनाएर हिउँदमा पानी छाड्ने तयारी थालेको हो।

आयोजनाप्रमुख खनालका अनुसार ढापमा २४ मिटर अग्लो र नागमतीमा ९० मिटर अग्लो बाँध बनाइँदै छ। ढापस्थित बाँधबाट वर्षको आठ महिना सुकेबराबर हुने बागमतीमा ४० लिटर प्रतिसेकेन्डका दरले पानी पठाउन सहयोग मिल्नेछ। यस्तै नागमतीमा बन्ने ९० मिटरको बाँधबाट ४ सय सय लिटर प्रतिसेकेन्डका दरले पानी पठाउन सकिन्छ।

'नागमती र ढाप दुवै बाँधबाट गरी हिँउद र सुक्खा मौसममा ४ सय ४० लिटर प्रतिसेकेन्डका दरले बागमतीमा बहाब बढाइनेछ,' उनले भने, 'त्यो भनेको घुँडासम्म आउने पानी हो।'

ढापमा बाँध बनाउन ठेक्का प्रक्रिया अघि बढिसकेको छ। बाँध बनेपछि ढापमा ८ लाख ५० हजार मिटर क्युब पानी जम्मा हुन्छ। नागमतीमा बाँध निर्माणपछि ८० लाख मिटर क्युब पानी जम्मा गर्न सकिन्छ। नागमतीको बाँधबाट ३ मेगावाट विद्युत्समेत निकाल्न सकिने भएकाले त्यही सोचमा काम भइरहेको खनालले जानकारी दिए।

'पछिल्लो समय सफाइ महाभियानले बागमतीलाई छ्या..बाट आहा भन्न मिल्ने अवस्थामा लगभग पुर्याबइसकेको छ,' उनले भने, 'तर, त्यतिले मात्र मृत अवस्थामा पुगिसकेको नदीलाई पुनर्जीवन दिन सक्दैन। यसको सौन्दर्य भनेको पानी नै हो। सुकिसकेको बागमतीमा बहाब बढाउन अत्यावश्यक छ।' उनले धार्मिक हिसाबले पनि महŒवपूर्ण बागमतीलाई पशुपतिसम्म स्वच्छ बनाउन पहिलो चरणमा सिनामंगलसम्मको कार्यक्रम आएको जानकारी दिए।

बहाब बढाउने, नियमित सफाइ अभियान चलाउने, बगैंचा तथा अन्य भौतिक पूर्वाधार बनाउँदैमा सौन्दर्य दिगो नहुने भएकाले बागमतीका विभिन्न पाँच स्थानमा ढल तथा पानी प्रशोधन केन्द्र निर्माणको कामसमेत अगाडि बढिरहेको छ। ढल प्रशोधन केन्द्र निर्माणको काम भने मेलम्ची खानेपानी आयोजनाअन्तर्गतको आयोजना कार्यान्वयन परियोजनाले गर्न लागेको हो।

बागमती सफाइको १ सय ५० हप्ताको अवधिमा गोकर्णदेखि शंखमूलसम्म अहिले हेर्न र बस्नलायक भएको छ। सिनामंगल क्षेत्रको सुकुम्बासी बस्तीबाहेक अन्यत्रको नदीक्षेत्रमा फोहर भेटिँदैन। विगतमा दुर्गन्ध आउने नदीकिनारका धेरै स्थानमा अहिले फूलको बास्ना आउँछ। अव्यवस्थित सवारी पार्किङले कुरुप बनेको स्थानमा बाल–उद्यान (चिल्ड्रेन पार्क) बनिसकेको छ। जहाँ साँझबिहान तथा बिदाका दिन बालबालिका खेलिरहेका देखिन्छन्।

गोकर्णदेखि सुन्दरीघाटसम्म करिब १७ किलोमिटर खण्डमा अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले पक्की सडक तथा ढल निर्माणको काम अगाडि बढाइरहेको छ। अहिले थापाथलीसम्म ढल बिच्छ्याउने काम सकिएको समिति अध्यक्ष किशोर शाक्यले जानकारी दिए ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.