-->
बिपन्न बिरामीको भरोसा बन्दै डा. समिर

छोरी बिरामी परेपछि प्युठान बिजुवार भित्रीकोटका टंकबहादुर बिकले जिल्ला अस्पताल लिएर गए । उपचारका लागि उनले स्थानीय सहकारीबाट १५ हजार ऋण लिएका थिए । तर ४५ दिनसम्म उपचार गर्दा पनि छोरी सरितालाई निको भएन । ऋण गरेर लगेको पैसा पनि सकिसकेको थियो । अब के गर्ने भन्ने अन्यौलमा टंकबहादुर थिए ।
एक दिन हँसिलो अनुहार लगाउँदैं एक सरिताको बेड अगाडि उभिए । सरितालाई हेरेर भने, ‘यहाँ निको हुँदैंन, बाहिर लैजानुपर्छ ।’ खोजेको ऋण सकियो । गाउँघर, छरछिमेक सबैतिर थप ऋण माग्दा कसैले नपत्याएपछि छोरीको माया मार्न थालिसकेका थिए टंकबहादुरले । तैपनि डाक्टरसंग बिन्ती बिसाए– डाक्टर साब मसंग पैसा छैन, ऋण खोजेको पैसा पनि सकियो, मेरो केही उपाय छैन, के  गरुँ ?’ डाक्टरले टंकबहादुरलाई २५ हजार रुपियाँ दिँदैं काठमाडौंको शिक्षण अस्पताल रेफर गरे । काठमाडौंमा सरिताको छातिको जमेको पिप निकालियो । अहिले उनी घर नजिकैको विद्यालयमा ५ कक्षा पढिरहेकी छिन् ।
‘मेरा लागि त उहाँ भगवान नै हुनुभयो नि,’ टंकबहादुरले भने, ‘म उहाँलाई कहिल्यै भुल्न सक्दिनँ ।’
सरिताको उपचारमा सहयोग गर्ने डाक्टर हुन् समिर लामा । १० महिनाअघि मात्र प्युठान जिल्ला अस्पतालमा आएका डा. लामा अहिले जिल्लाका बासिन्दाका लागि भरोसाका केन्द्र बनेका छन् । उनी अहिले टंकबहादुरजस्तै विपन्न र न्युन आर्थिक अवस्था भएका मानिसका लागि सहयोग अभियान चलाइरहेका छन् । सामाजिक सन्जाल तथा इन्टरनेटमार्फत् आर्थिक सहयोग जुटाउने प्रयास गरिरहेका छन् उनी ।
सरितालाई निको बनाउने प्रयास गर्दा पनि अस्पतालमा रहेको प्राबिधिक समस्याले गर्दा बाहिर पठाउनुपर्ने बाध्यता रहेको डा. लामा बताउछन् ।
त्यस्तै रेक्टर प्रोल्याप्सबाट पीडित प्युठान नगरपालिका १५ धर्मावतीका मुकुन्द केएमको पनि डा. लामाकै सहयोगमा उपचार भएको छ । ३० वर्षीय उनी पनि डाक्टरको गुन कहिल्यै नबिर्सने बताउँछन् । आफूले अर्को जुनी पाएको भन्दै उनले भने, ‘नेपालगञ्जबाट अब मर्ने नै भएँ भनी फिर्ता भएको थिएँ, तर परिवारले जिल्ला अस्पतालमा जाउँ भनेपछि आएँ, उहाँले मलाई इमरजेन्सी कोठामा भेट्नुभएको थियो । पायल्सबाट निकै पीडित मुकुन्दसंग पैसा नभएको कुरा थाहा पाएपछि डा. लामाले ५० हजार सहयोग दिई चितवन पठाएका थिए ।
उनी अहिले पूर्ण रुपमा निको भएका छन् । आफूलाई बेला बेलामा डा. समिरले फोन गरी सन्चोबिसन्चो सोध्ने गरेको उनी बताउँछन् ।
कमजोर आर्थिक अवस्थाका परिवारले सामान्य रोगको पनि उपचार  गर्न नसकेको अवस्थालाई राम्रोसंग बुझेका डा. समिरले आर्थिक सहयोग जुटाउने अभियान चलाएका हुन् । चितवन भरतपुर ११ का डा.समिरले शिक्षण अस्पताल महाराजगन्जबाट एमडी गरेका छन् । अति बिपन्न परिवारलाई सहयोग गर्ने उद्धेश्यले उनले राष्ट्रिय बाणिज्य बैंक बिजुवार प्यूठानमा आफ्नो नाममा  खाता खोलेका छन्। ४४३००१६०५०१० नम्बरको खातामा अहिलेसम्म ८४ हजार ५ सय ६७ रुपैयाँ जम्मा भएको डा. समिरले बताए । सानो सहयोगले कसैको ज्यान नै जोगिने हुँदा सहयोगी हातहरु अगाडि बढाउन पनि उनले सबैलाई आग्रहसमेत गरेका छन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.