-->
अमेरिकामा नेपाली डाक्टर अब्बल

शिक्षण अस्पताल महराजगञ्जबाट एमबिबिएस गरेपछि डा. प्रभात अधिकारीले अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्नियामा इन्टरनल मेडिसिनमा एमडी गरे । साढे दुई वर्ष अमेरिकामै स्वास्थ्य सेवा प्रवाह गरेपछि अहिले इन्फेक्सियस डिजिजमा फेलोसिप गरिरहेका छन् । यसका साथै आस्क फाउन्डेसनमार्फत समाजसेवा पनि गरिरहेका छन् । उनले आफ्ना अनुभव र विचार स्वास्थ्य खबरपत्रिकामार्फत् बाँडेका छन् ।
अमेरिकामा नेपाली डाक्टर अब्बल
अमेरिकामा नेपाली डाक्टरको अवस्था एकदमै राम्रो छ । त्यहाँ पुगेर प्राय डाक्टर अब्बल भएका छन् । धेरैजना आफ्नो ब्याचमै सर्वाेत्कृष्ट घोषणा भएका छन् । कतिले फेलोसिप पाएका छन् भने कतिले अनुसन्धान गर्ने मौका पाएका छन् । सेवाका हिसाबले पनि बिरामीले नेपाली डाक्टरलाई विश्वास गरेको पाइन्छ । नेपाली डाक्टर त्यहाँ अब्बल दरिनुको एउटा कारण त इमान्दारिता नै हो । अर्काे कारणचाहिँ नेपालको डाक्टर बन्ने प्रक्रिया जटिल नै छ । छानिएको मान्छे मात्रै चिकित्सा क्षेत्रमा आइपुग्ने भएकाले यस्तो देखिएको हो । त्यसबाहेक त्यहाँ पढ्न वा काम गर्न थालेपछि ढाँट्न–छल्न पाइदैन । पढाइमा तेज व्यक्तिले मेहनत गर्ने ठाउँ पायो भने सफलता हासिल गर्छ । अमेरिकामा नेपाली डाक्टर राम्रो स्ट्याटसमा हुनुको महत्वपूर्ण कारण यही हो ।
नयाँ सोच र नयाँ विचारलाई अवरोध
त्यहाँ काम गरिरहेकामध्ये ५० प्रतिशत डाक्टर नेपालको स्वास्थ्य क्षेत्रमा कुनै न कुनै रुपमा नेपालको स्वास्थ्य क्षेत्रमा योगदान दिन चाहन्छन् । उनीहरुलाई नेपालमा सेवा दिने माध्यमको भने जरुरी छ । किनभने अहिलेकै अवस्था र प्रणालीमा उनीहरुले प्रयास गरेपनि सफल भएका छैनन् । नयाँ सोचलाई स्वागत गर्ने र नयाँ मान्छेलाई काम गर्ने वातावरण नेपालमा छैन । यहाँको राजनीति र कर्मचारीतन्त्रले अवरोध सिर्जना गरिदिन्छ । केही समयअघि शिक्षण अस्पताल महाराजगञ्जमा नयाँ योजनाका साथ अमेरिकामा बस्ने नेपाली डाक्टरको समूह आएको थियो । तर, त्यहाँका डाक्टर र कर्मचारीले त्यसमा अवरोध सिर्जना गरे । सरकारका  तर्फबाट पनि उनीहरुले अपेक्षा गरेको सहयोग नपाएपछि रित्तो हात फर्किनुप¥यो ।
पछाडि परिरहेको छ रिसर्च
नेपालको वर्तमान अवस्थामा हेर्ने हो भने रिसर्च एकदमै पछाडि परिरहेको छ । विश्वमा रिसर्चलाई निकै महत्व दिइने भएपनि नेपाली डाक्टरहरुले त्यसलाई प्राथमिकता दिन सकेका छैनन् । नेपालको स्वास्थ्य स्थिति अन्यत्रभन्दा फरक भएकाले पनि यहाँ रिसर्चका लागि सहयोग पनि प्राप्त हुन नसक्ने अवस्था छ । नेपाली डाक्टरले यतातिर सोच्न नसक्नुको मुख्य कारण आर्थिक अवस्था नै हो । सरकारी अस्पतालमा डाक्टरले पाउने तलबले हातमुख जोड्न गाह्रो छ । त्यसैले बिहान–बेलुका काममै खटिएपछि यतातिर सोच्न सक्दैनन् । आर्थिक हिसाबले पनि रिसर्च गर्न मुश्किल परिरहेको छ ।
सेवाभाव ह्रास हुनुको कारण
नेपाली डाक्टरमा सेवाभावको अभाव रहेको कुरा विभिन्न समयमा सुन्न पाइन्छ । सबै डाक्टरमा यो लागू नभएपनि कतिपयमा कमाउनका लागि जे पनि गर्ने नियत देखिएको छ । केही घटना म आफैंले पनि अनुभव गर्नुपरेको छ । समाज सेवामा ध्यान नजानुको कारण वा सेवाभाव ह्रास हुँदै जानुको कारण कमजोर आर्थिक उपार्जन नै हो । घरपरिवार चलाउन  बिहानदेखि राति अबेरसम्म काममा खट्नुपर्छ । समाज होइन, परिवारलाई समेत समय हुँदैन । एकोहोरो पैसाकै लागि काम गर्नु परेपछि दिमागमा पैसाबाहेक अर्काे कुराले ठाउँ पाउँदैन । त्यसैले सामाजिक कार्यमा त्यति सहभागी हुन सक्दैनन् ।
जडिबुटीमाथि खोज जरुरी
भर्खरै चिनियाँ डाक्टरले मलेरियाको औषधि पत्ता लगाएर नोबेल पुरस्कार हासिल गरे । उनले चीनमा यो रोगका लागि प्रयोग भइरहने परम्परागत जडिबुटीलाई लिएर अनुसन्धान गरेका हुन् । त्यो जडिबुटीमा पाइएको तत्वले मलेरियाका विरुद्ध काम गर्ने कुरा सार्वजनिक गरेका हुन् । त्यस्तै नेपालमा पनि धेरै वर्षदेखि जडिबुटीको प्रयोगबाट विभिन्न रोगको पचार गर्ने काम हुँदै आएको छ । ती जडिबुटी प्रभावकारी पनि देखिएका छन् । त्यसैले यसमा खोज हुन जरुरी छ  ।
इलक्ट्रोनिक रेकर्डका कुरा
अमेरिकामा २०१४ मा आएको ओबामा केयरको महत्वपूर्ण पाटो भनेको इलेक्ट्रोनिक्स मेडिकल रेकर्ड (इमएमआर) हो । यसलाई नेपालले पनि आत्मसाथ गर्न जरुरी छ । अहिले स्वास्थ्य सेवामा ठूलो रकम विचौलियाको हातमा पर्छ । सेवाग्राहीले महंगो रकम तिरिरहेका छन् भने सेवा प्रदायकले प्राप्त गर्न सकेका छैनन् । यसले समग्र स्वास्थ्य प्रणालीलाई ध्वस्त पारिरहेको छ । इलेक्ट्रोनिक मेडिकल रेकर्ड प्रणालीमा जाने हो भने कमिसनतन्त्र हट्छ । यसको अर्काे महत्वपूर्ण फाइदा भनेको सेकेन्ड ओपनियन लिन सजिलो हुन्छ । जुन ठाउँमा उपचार भइरहेको भएपनि आवश्यक परेको समयमा विशेषज्ञ चिकित्सकले बिरामीको रेकर्ड हेरर रोग पहिचान गर्न सक्छन् र उपचारका लागि सल्लाह दिन सक्छन् । यसबाट नेपालजस्तो भौगोलिक विकटता भएको देशले बढी फाइदा लिने देखिन्छ । किनभने जुनसुकै अवस्थामा पनि गाउँमा विशेषज्ञ चिकित्सकीय सेवा पु¥याउन असम्भव नै हुन्छ ।
आफ्नै जनशक्तिमा जोड
विश्वका धेरै देश सफल हुनुको कारण उनीहरुले उत्पादन गरेका जनशक्ति हुन् । चीनले चिकित्सा क्षेत्रमा फड्को मार्नुको कारण सरकार आफैंले आफ्ना डाक्टरलाई कहलिएका मेडिकल कलेजमा पढाउन व्यवस्था गरेको छ । अन्य देशले पनि आफूलाई चाहिने जनशक्ति सरकारी स्तरबाटै उत्पादन गर्ने नीति लिन्छन् । तर, नेपालले त्यस्तो गर्न सकेको छैन । जसले गर्दा हरेक क्षेत्रमा पछि परिरहेका छौं ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.