-->
गौतम बुद्ध विमानस्थल २० प्रतिशत बन्यो

जेष्ठ २५, २०७३- यहाँ डेढ वर्षअघि निर्माण थालिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण २० प्रतिशत सकिएको छ । सन् २०१८ देखि यसलाई सञ्चालनमा ल्याउने लक्ष्य सरकारले राखेको छ । विमानस्थल आयोजनाका अनुसार ३ हजार मिटर लामो धावनमार्गको माटो दबाएर गरिने सव ग्रेट सम्पन्न भएको छ ।

धावनमार्ग माथिको गिट्टी, बालुवा, माटो मिसाएर राखिने सतहको काम सुरु गरिएको छ । कन्ट्रोल टावर र प्रशासनिक भवनको जमिन मुनिको भाग एक महिनाभित्र पूरा हुने आयोजनाले जनाएको छ ।

‘८ महिनासम्म विभिन्न अवरोधका बावजुद करिब २० प्रतिशत निर्माण कार्य पूरा भएको छ,’ आयोजना प्रमुख ओम शर्माले भने, ‘अब कुनै अवरोध नभए निर्माण निर्धारित समयमा सकिने छ ।’ आपतकालीन अवतरण गर्नु परेमा प्रयोगमा ल्याउन सकिने गरी धावनमार्ग तयार भएको जनाए ।

धवनमार्गको अति महत्त्वपूर्ण काम मध्येको घाघरा नदीको डाइभर्सन निर्माण सकिएको छ । साढे २ किमि दूरीमा घाघरा नदीलाई घुमाएर पहिला नदी बगेको स्थलमा धावनमार्गको कार्य भइरहेको छ । अग्नि नियन्त्रण कक्ष भवन निर्माण सँगसँगै नाला, पेरिफेरी सडक र फिनिसिङका काम चलिहेका छन् ।

असारसम्ममा २५ प्रतिशत निर्माण सकिने सम्झौता सरकार र आयोजनाबीच भएअनुरूप निर्माण कार्य पूरा गरिने शर्माले जनाए । सम्झौता अनुरूपको निर्माण पूरा गर्न नसकेमा राष्ट्रिय गौरवका आयोजनाहरू कारबाहीको भागीदार हुनु पर्ने प्रावधान छ ।

शर्माका अनुसार ०७१ माघ १ गते शिलन्यास भएको यो विमानस्थलको ४ महिनासम्म आयोजनाको कार्यालय स्थापनालगायत आन्तरिक कार्यका लागि पूर्व तयारीका काम भएका थिए ।

भूकम्प, वर्षातको याम, मधेस आन्दोलन र भारतको नाकाबन्दीजस्ता अवरोधले गर्दा मंसिर महिनापछि मात्रै निर्माण कार्यले गति लिएको हो ।

आयोजना स्थलमा दैनिक ११ वटा रोलर, ११ वटा स्क्याभेटर, ७ वटा डोजर, ६० वटा टिप्पर, ४ वटा ट्रान्जिट मिक्स, २ वटा मिक्सिङ प्लान्ट सञ्चालनमा छन् । विद्युत् आपूर्ति सहज नभएकाले र कच्चा पदार्थ ढुंगा नपाइएकाले आयोजनाको आफ्नै २ वटा क्रसर मेसिन भने सञ्चालनमा आउन सकेका छैनन् ।

यो विमानस्थल सञ्चालनमा आएपछि काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रूपमा प्रयोगमा ल्याउन सकिने छ । यो विमानस्थलको प्रयोग गर्दै काठमाडौंको विमानस्थललाई पूर्ण रूपमा मर्मतका कार्य सञ्चालन गर्न सकिने आयोजना प्रमुख शर्माले बताए ।

कुल ७ सय १५ बिघा जमिनमा विस्तार हुने यो विमानस्थलका लागि १ सय ४० बिघा जमिनको मूल्यांकनको आधारमा असारभित्रै मुआब्जा वितरण गर्ने तयारी गरिएको छ । राडार स्टेसन लगायतका कामका लागि पुन: थप २ सय ८८ बिघा जमिन अधिग्रहण गर्ने वैशाख १२ को मन्त्रिपरिषद्को निर्णयबमोजिम प्रारम्भिक कार्य केही दिनमै सुरु गरिने उनले जनाए ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.