-->
घरबेटीले कति राजस्व तिर्छन् ?

khagendra phuyal

एघार वर्षमा सातपटक डेरा सरिएछ । २०६१ चैतमा एसएलसी सकेर ०६२ मा आईए पढ्न काठमाडौं छिरेसँगै हालसम्म आठौं डेरामा बस्दै छु । डेरा सर्नु कोही कसैको रहर हँुदैन । डेरा सरेको हप्तौंसम्म आफूले खोजेको सामान नभेटिनु त छँदै छ । बल्लबल्ल जोडेका सामान फुटेर कामै नलाग्ने हुन्छन् ।

क्याम्पस आउजाउमा समस्या र जागिरका कारणले गर्दा कमै डेरा सरियो । धेरै जति डेरा सर्नुपर्ने कारणचाहिँ घरबेटीको व्यवहारमा आउने परिवर्तनले गर्दा नै हो । डेरा हेर्न जाँदा घरबेटीको जागिर नै दिनेझैं अन्तर्वार्ता लिएर हैरान पार्ने नै भए । आफैंले गरेका वाचा भंग गर्दै बाथरुममा पानी नदिने, वर्ष दिनअगाडि नै भाडा बढाउन किचकिच गर्छन् । बिजुलीको बिलमा लागेकोभन्दा अलि बढी नै असुल्न खोज्नेसम्मको हर्कत देखाउँछन् ।

सुरु–सुरुका दिनमा बोलीव्यवहार राम्रै गरे पनि पछिल्ला दिनमा रुखोपना र अस्वाभाविक रूप उनीहरूको असली रूप हुन् । सुरु–सुरुमा लुगा सुकाउन, घाम ताप्न छतमा आउनू भन्दै चेपारो घस्ने र केही महिनापछि छतमा जाँदा आँखा तर्नु हरेक घरबेटीको वर्गचरित्र नै हो । यतिसम्म हुन्छ कि, सुरु–सुरुमा के छ, कसो छ, खाना भयो भएन, सिर्फ औपचारिकता पनि केही महिनापछि बन्द हुन्छ । पैसा थापेको दिन मुख अलि उज्यालो पार्छन्, बाँकी २९ दिन जहिल्यै अँध्यारोको अँध्यारै । अझ कति घरबेटीका सर्त महिना सुरु हुँदै पैसा बुझाउनुपर्ने हुन्छ ।

यदि घरबेटीलाई आफ्नो घरमा बस्ने व्यक्तिमाथि शंका लागे सिधै आएर भन्न सकिँदैन ? किन नौथरि चरित्र देखाउनु ? कतिपय घरेबेटीको व्यवहार यतिसम्म तल्लो स्तरको हुन्छ कि, कुनै ढाक्रेलाई एकरातको बास दिनुपरेजस्तो गर्ने !

मान्छे बसेको ठाउँमा मान्छे त अवश्य आउँछन् । उखानै छ नि ‘जिउँदाको जन्ती मर्दाको मलामी’, साधुसन्तका पनि इस्टमित्र हुन्छन् रे ! फलानो काठमाडौंमा बस्छन, त्यसैकोमा एक÷दुई दिन बस्छु भन्दै गाउँबाट आउनेहरू हुन्छन् ।

अवसरको खानी भएकाले राजधानी आउनुको विकल्प छैन । काठमाडौंमा मात्रै १५ लाखभन्दा बढी मानिस डेरामा बस्छन् । नयाँ संविधान जारी भइसक्दा पनि वैज्ञानिक घरबहाल कानुन तथा नियमावली किन बन्न सकिरहेको छैन ? एक्काइसौं शताब्दीमा पनि राजधानीमै किन जनतामाथि भेदभाव, कि राज्यद्वारा नै विभेद ? विनाभेदभाव सम्मानसाथ बाँच्न पाउने अधिकार काठमाडाँैमा घर नहुनेलाई छैन ।

मलाई सरकारसँग जान्न मन लागेको छ । ६÷६ महिनामा घरभाडा वृद्धि गर्ने घरबेटीले कति राजस्व तिर्छन् ? घटीमा एउटा कोठाको ३५ सयदेखि पाँच हजारसम्म डेरावालासँग पैसा असुल्ने घरबेटीले कति राजस्व तिर्छन् ? ओ सरकार ! के जनताको सूचनाको हकअन्तर्गत यो कुरा थाहा पाउने मेरो अधिकार छ ? कि तिम्रा कानुन बोकाको राजखानी देखाएर बाख्राको मासु बेचेजस्तै हुन् ?

यदि तपाईं पनि घरभाडामा लगाउनुभएको छ वा लगाउन चाहनुहुन्छ भने कस्तो मान्छे आफ्नो घरमा राख्ने, त्यो तपाईंको अधिकारको कुरा हो । आफ्नो घरमा बस्ने व्यक्ति गलत बाटोमा हिँडेको छ भने उसलाई सम्झाइ–बुझाइ गर्नुहोस्, त्यसो गर्दा पनि मान्दैन भने घर खाली गर्न भन्नुहोस् । तपाईंले पैसा लिएर कोठाभाडामा लगाएछि पानी व्यवस्था गरिदिनुपर्दैन ? फोहोर व्यवस्थापन मिलाउनुपर्दैन ?

कोठा बहालमा दिएर धनी हुन चाहनुहुन्छ भने त्यो भ्रमबाट मुक्त भइहाल्नुहोस् । त्यो दिउँसे देखेको सपनामात्रै हुनेछ । अर्कालाई ठगेर तपाईं पूजाको थाली बोकेर मन्दिर जानुको कुनै औचित्य छैन ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.