-->
आई एम विथ केपी ओली ! तर, धुर्मुसबाट सिक्नोस् !

सय एकड जमिनको वीचमा सुन्दर घर । पार्किङ्गमा मर्सिडिज, फरारी र रोल्स रोयल कार। वीचमा स्विमीङ्ग पुल । चारैतिर हरियाली । बगैंचामा मयुर, हरिण र जरायो विचरण गरिरहेका ।

nimesh-giri

सोलारबाट बल्ने वत्तीहरु। झलमल घर । बैंकमा करौडौंको ब्यालेन्स । छोराछोरी अमेरिका र अस्ट्रेलियामा अध्ययनरत छन् । म ५ वटा मल्टिनेशनल कम्पनीको मालिक । त्यसैको मिटिङ्गमा अमेरिकाका राष्ट्रपति बाराक ओवामा मेरो सफलताको कथा सुन्न अगाडिको लहरमा उभिएर मेरो प्रवचन सुनिरहेका छन् ।

अचानक आर्लम बज्यो । डांग्री लगाएर काममा जानुपर्ने भयो । कस्तो सपना देखिएछ !

हाम्रो सरकार र ओलीजीको कुरामा समर्थन गर्दै “आई एम विथ केपी ओली” भन्ने भनाइ भाइरल भएको छ । सपनाहरु देख्नुपर्छ, नत्र सपना पूरा हुँदैन भन्दै कुर्लदै छन् सानातिना झोले नेताहरु ।

सपनाहरु देख्नु पर्छ, निश्चित हो । त्यसमा विमति छैन् । म पनि सपना नदेख्ने त कहाँ हो र ? बिदेश बसेको १७ वर्ष भयो ।हरेक वर्ष एक सपना देख्छु । मेरा सपनाहरु छन् । पहिले यहाँ आएको ऋण तिर्नु थियो, सानो जग्गा जोडदै, बुबाआमालाई राम्रो जीवन अनि विबाह गरेर जन्मिएका सन्तानहरुलाई राम्रो शिक्षा, किस्ता किस्तामा सपनाहरु देखेको थिएँ, छु र देखिरहने छु । सोही अनुसार सपनाहरु पुरा हुँदैछन ।

१७ वर्ष प्रवासमा राम्रै रोजगारीको अवसर प्राप्त गर्दा पनि मैले कुनै ठुलो कम्पनी नेपालमा खोल्न सकेको छैन । त्यसको एक मात्र कारण म हुण्डी, सुन तस्करी र गैह्र कानुनीरुपमा मानव ओसार पसारसार गर्न सक्दिँन म । कार्यक्रमको वाहाना होस् वा भिजिट भिषाको चाहानाले होस् । त्यसैले त मेरा सीमित सपनाहरु किस्ता किस्तामा पूर्ण हुन्छन् ।

बैदेशिक रोजगारीमा आएका मेरा साथीहरु कुनै न कुनै राजनैतिक दलको पुच्छर बनेका छन् । त्यसैले ओलीबाजेले राम्रो गर्दै छन् । सिगात्से देखि लुम्बिनीसम्म रेल, एक वर्षमा लोड सेडिङ्ग मुक्त देश, तुइनको त के कुरा भो र, त्यो त छुमन्तर हुन्छ । चार लाख नेपालीलाई रोजगार, अरब सागरमा नेपाली झण्डा भएको पानीजहाज । अझै  ओली बाजेको हातमा प्रधानमन्त्रीको कुर्सी हुन्जेल के के आउँछ, कल्पना गर्न सक्दिँन ।

वास्तवमा ओली जीको सपनाको सम्मान र त्यसको प्रतिक्षा त मैले पनि नगरेको त कहाँ हो र ? उनका सपनाहरुको पूर्णताको कामना गर्दछु । तर, सपनाहरु किस्तामा पुरा हुन्छन् भन्ने कुरा नबुझ्ने कार्यकर्ता देख्दा अचम्म लाग्छ ।

भुकम्पको हायकायले लाप्राकका जनता त्रिपालमुनि सुतिरहेका छन् । त्यो देख्दा नेपाल नभएर त्रिपाल भन्न विवश छु । पुर्ननिर्माण कार्य कछुवा गतिमा चल्दैछ तर संसदको भत्ता आकाश छुँदैछ । विकासका सिद्धान्तहरु सवै राजनैतिक दलका घोषणा पत्रमा उल्लेख  छ । सबैले सरकार गठन सँगसँगै विकासका मोडलहरु प्रस्तुत गर्दै आएका थिए र छन् । विगतमा कृष्णप्रसाद भट्टराईको मेलम्चीले काठमाडौको सडक पखाल्ने सपना खै कहिले पूरा हुने हो ? मनमोहनको नौ महिने कालको स्वीटजरल्यण्डको सपना अझै पूरा भएको छैन । त्यसैगरी प्रचण्डको सिंगापुर बनाउने सपना थाङ्गनामा सुतिरहेको छ ।त्यसैले हामीले सुन्दै आएका सपनाहरु नेता र नेतृत्व अनुसार परिवर्तन हुँदै जान्छ  । हामी लाटो देशका गाँडो तन्नेरी भन्दै नेताको सपनाको आत्मारतिमा रमाउँदै अब आइहाल्यो र आइहाल्छ भन्दै मख्ख पर्न छोडेका छैनौं ।

सपनाका व्यापार गर्ने सरकारहरुले हामीलाई नेटवर्किङ्ग व्यवसायीले देखाउने सपनाहरु भन्दा फरक देखाउन सकेका छैनन् । नेटवर्किङ्ग व्यवसायीले पीरामिडशैली दायाँ र वायाँ एक एक जना सदस्य बनाए पश्चात मालामाल पैसा बर्सिन्छ भन्ने सपना बाँडेझैं हामीलाई ओलीजी तुक्के शैलीमा सपनाहरुको व्यापार गरिरहेका छन् ।

भर्खरै आएको बजेट भाषणले ठूलाठूला कार्यको फेहरिस्त जाहेर गरेको छ । ठूला सडक, अन्तर्राष्ट्रिय विमानस्थलहरु, रेलमार्ग, जलविद्युत आयोजनाहरु, तेल, ग्यासका भण्डारवाट देशलाई उर्जामा सम्पन्न वनाउने सपनाहरु छन् । आहा कस्ता राम्रा सपना ! हामी प्रवासमा नै मन्त्रमुग्ध भएका छौं । तर, हाम्रो त्रिभुवनअन्तरराष्ट्रिय विमानस्थलको स्तर विकासको आवश्यक्तामा सपना देखेन सरकारले । राजमार्गमा दुघर्टनाको शिकार भएर दैनिक मृत्युवरण गरिरहेका जनताका उक्त सडकलाई सुरक्षित वनाउने सपना छैन ओली जीसंग । कर्णालीमा चामलको अभावमा कुपोषणले थलिएका वालकको भविष्यका लागि सपना रंगीन छैन । दैनिक १५ सयदेखि दुई हजार युवा वैदेशिक रोजगारीमा भौंतारिँदै छन । र, वैदेशिक रोजगारीमा रहेका नागरिक काठको बाकसमा बन्द हुँदै फर्किएका नेपालीको भविष्य देख्दैन सरकार । तर,  सरकार उसको बजेटको पूर्तिका लागि वैदेशिक रेमिट्यान्समा निर्भर छ । अनुत्पादक क्षेत्रमा लगानी गर्न वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकलाई प्रोत्साहन गर्छ । तर, उत्पादन एवं भविष्यको निर्भर बनाउने नीति बनाउन सक्दैन । हामीलाई हाम्रो दक्षताका आधारमा सर्टिफिकेट दिने निर्णयलाई ठूलो मान्नु कसरी ? यो निर्णयले त अप्रत्यक्ष रुपमा उक्त प्रमाणपत्र लिएर पुनः वैदेशिक रोजगारीमा नै जान बल गरेको छ ।

ओलीजी तपाई जति सपना देख्न चाहानु हुन्छ देख्नुस । त्यसको सम्मान गर्दछु । सपनाहरुलाई वर्गीकरणसहित देख्नुभयो भने आई एम विथ केपी ओली भन्नुपर्ला । अल्पकालीन र दीर्घकालीन भनेर कृपया सपनालाई वर्गीकरण गर्दिनुस् । तपाईले अल्पकालीनमा पुनर्निर्माण र जनताको जीवनस्तरलाई उठान गर्न भुकम्पले क्षत विक्षत भएको क्षेत्रको बिकास, शिक्षा, स्वास्थ्यलाई जनस्तरसम्म पुर्याउनका लागि आधुनिक शिक्षा एवं स्वस्थ्य नीति, कर्मचारी संयन्त्र र विद्यालयलाई राजनीति मुक्त क्षेत्र, सहज सरकारी सेवा, विगतका यतायात मार्गको स्तरोन्नति, सामाजिक सुरक्षाको ग्यारेन्टी, कृषिमा आधुनिकीकरण एवं सामुहिक कृषि प्रणालीमा जोड, वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित एवं विकासमा लगानी गर्ने अवधारणा ल्याउनुस् । यति मात्रै पनि गर्न सक्नुभयो भने हामी प्रवासका नेपालीले कुनै राजनैतिक दलको पुच्छर भएर होइन, नेपाली भएर ठूलो स्वरले आईएम विथ केपी ओली भन्ने थियौं ।

तर, किंचित दुःखपूर्वक भन्नैपर्छ, तपाईले हालमा हामीलाई बाँडेका सपना २५ वा ५० बर्ष पछाडिका भए । हो, १४९० मा लियोनार्दो दा भिन्चीले हवाइजहाजको सपना देखेका थिए । तर, उक्त सपनाको पूर्ति १९०५ मा राइट ब्रर्दशले गर्न सफल भए । त्यसैले ओलीजी, हामीलाई सपना वर्गीकरणमा मात्र देखाउँदा विश्वास लाग्ने छ । नत्र कोरा सपनाले हामीलाई आत्मा मनोरन्जन बाहेक केही दिँदैन । पर्दामा कहिलेकाहीँ केपी ओली बन्ने धुमुर्सबाट धेरै कुरा सिक्नुस् ।सपना देख्न परीश्रम गर्नु पर्दछ । अनि सपनाको पूर्तिका लागि बोलीमा हैन, गैंती र कोदालो चलाउनुपर्दछ


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.