-->
विकासको कुरा गर्दा विरोधीहरु अत्तालिए: प्रधानमन्त्री

जेष्ठ २५, २०७३- 
प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकसित हुन नदिन विकास विरोधीहरु अत्तालिएको बताएका छन् ।

‘नयाँ–नयाँ योजना, कार्यक्रम सार्वजनिक गर्दा विरोधीको सातो उडेको छ’ मंगलबार सुर्खेतको वीरेन्द्रनगरमा मध्यपश्चिम विश्वविद्यालयद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘कुरा काट्ने काट्दै गर्छन् । भुक्नेहरु भुक्दै गर्छन् । तर, म देश निर्माणमा जुट्छु ।’
 
दुई वर्षमा तुइनमुक्त देश बनाउँछुभन्दा विरोधीहरु तीनछक्क परेको ओलीले बताए । ‘कतै बाँकी रहेका तुइनहरु छन् की भावी सन्ततिलाई देखाउन फोटो खिच्नुस् । अब तुइन हटाएर झोलुङ्गे पुल निर्माण धमाधम भइरहेका छन्,’ प्रधानमन्त्री ओलीले भने । उनले तुइन हटाएर झोलुङ्गे पुलमा  मात्र जनतालाई चित्त बुझाउन नलागेको उद्घोष गरे । ‘आज तुइन विस्थापित गरेर झुलुङ्गे पुल निर्माण हुन्छन् । भोलि झोलुङ्गे पुल हटाएर गाडी गुड्ने पक्की पुल निर्माण गर्ने योजनामा छौं,’ ओलीले थपे ‘सपना देखे मात्रै देश विकास हुने भएकाले तपाईंहरुको साथ आवश्यक छ ।’

प्रधानमन्त्रीले विधि व्यवस्थापन भएको देशमा काम गर्न सहज हुने भएपनि नेपाल जस्तो गरिब मुलुकमा काम गर्न निकै सास्ती हुने गरेको अनुभव सुनाए ।

प्रधानमन्त्री ओली मध्यपश्चिम विश्वविद्यालयको पाँचौ सिनेट बैठकको अध्यक्षता गर्न सुर्खेत आएका हुन् । त्यस अवसरमा उनले वीरेन्द्रनगर नगरपालिका– ६ कुइनेपानीस्थित विश्वविद्यालयको प्रशासनिक भवनको शिलान्यास र कालागाउँस्थित क्षेत्रीय अस्पतालको नवनिर्मित भवनको उद्घाटन गरेका थिए ।

विश्वविद्यालयका कूलपतिसमेत रहेका प्रधानमन्त्रीसँगै सहकूलपति एवं शिक्षामन्त्री गिरिराजमणि पोखरेल, संघीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री कुन्तीकुमारी शाही, पयर्टन राज्यमन्त्री बलबहादुर महत, कांग्रेस नेता पूर्णबहादुर खड्का लगायत सुर्खेत आएका थिए ।

प्रधानमन्त्री ओलीले आफ्नै नेतृत्वको सरकारले आगामी मंसिरमा स्थानीय निकायको निर्वाचन गर्ने दृढता व्यक्त गरे । आफूले सरकारको नेतृत्व गरेको आठ महिना भएको भन्दै प्रधानमन्त्री ओलीले जहाँ जान्छु सरकार कहिले परिवर्तन हुन्छ भन्दै सोध्ने धेरै भएकाले देश विकास कसरी हुन्छ भनेर सोच राख्न सुझाव दिए । उनले सधैँ केपी ओली नै प्रधानमन्त्री हो भन्ने मानसिकता नराख्न आग्रह गरे ।

बुलबुले र कांक्रेविहारले मात्र परिचित नहुने भन्दै प्रधानमन्त्री ओलीले सुर्खेतलाई शैक्षिक विकासले चिन्न लायक क्षेत्र बनाउने उद्घोष गरे । प्राकृतिक खानी, जडिवुटीको हब भएकाले सुर्खेतलाई हेर्न लायक क्षेत्र बनाउने ठोकुवा गरे । सुर्खेतलाई टिकट काटेर हेर्न मिल्ने बनाउने प्रतिवद्धता जनाए ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.