-->
शुक्ला फाँटाका बाह्रसिंगा बर्दिया निकुञ्ज सारिंदै

जेष्ठ २३, २०७३- शुक्ला फाँटा आरक्षको विशाल घाँसे मैदानमा केहीदिन यता बिहानैदेखि साँझसम्म चहल पहल बढेकोछ । घाँसे मैदान छेउ रहेको पोष्टमा आरक्ष प्रशासन, राष्ट्रिय प्रकृति संरक्षण कोषलगायत निकायका प्राविधिकहरु सवारी साधन र ६ वटा हात्ती सहित डेरा जमाएर बसेको दुई साता भइसक्यो । उनीहरु पहिलो पटक शुक्ला फाँटा आरक्षका रैथाने बाह्रसिंगालाइ बर्दिया राष्ट्रिय निकुञ्जमा स्थानान्तरण गर्ने काममा खटिएका हुन् ।

‘यहाँका बाह्रसिंगा बर्दिया निकुञ्जको बघौरा फाँटामा सार्ने काममा  खटिएका हौं’ आइतवार शुक्ला फाँटा पोष्टमा भेटिएका राष्ट्रिय प्रकृति संरक्षण कोषका संरक्षण अधिकृत हेमन्त कुमार यादवले भने, ‘आइतबारसम्म २ भाले, ३ पोथीसमेत ५ बाह्रसिंगा बर्दिया निकुञ्जको बघौरा फाँटा पठाइसक्यौ, आधा काम सकियो ।’  पहिलो चरणमा १० वटा वयस्क बाह्रसिंगा जेठको दोस्रो सातादेखि बर्दिया स्थानान्तरण गरिन लागेको हो ।

बाह्रसिंगा स्थानान्तरण भने त्यति सहज रहेनछ । बिशाल घाँसे मैदानमा झुण्डमा देखापर्ने बाह्रसिंगालाइ समात्न समस्या छ । गैडालाई जस्तै डार्ट प्रविधिबाट बेहोस तुल्याएर बाह्रसिंगालाइ अन्यत्र सारिदैन । खुला घाँसै मैदानमा चरनका लागि झुण्डमा निस्केको अवस्थामा जालमा फसाएर मात्र नियन्त्रणमा लिइ सामान्य बेहोस तुल्याएर काठको ठूलो डिव्वामा राखी स्थानानतरण गरिन्छ ।

स्थानान्तरणका लागि खटिएको टोलीले हरेक दिन साझ बाह्रसिंगा देखा पर्ने र प्राय चरनका लागि जाने क्षेत्रलाइ पहिचान गर्छन । जुन ठाउँमा उनीहरुको बाक्लो गतिविधि हुन्छ त्यहाँ करिव ४ सय मिटर लम्वाइको जाल राख्ने गरिन्छ । ‘दोस्रो दिन बिहान हात्ती सहितको टोलीले  बाह्रसिंगालाइ लखेटेर जाल नजिकको क्षेत्रमा लैजान्छ ’ यादवले भने, ‘ जालमा फसेको बाह्रसिंगालाइ नियन्त्रणमा लिइ उसको शारिरीक परीक्षणसँगै स्ट्रेस नहोस भनेर सुस्त बनाउने सुइ लगाएर काठको बाकसमा राखी ट्रकद्वारा नयाँ बासस्थानमा पठाइन्छ ।’

आरक्षका प्रमुख संरक्षण अधिकृत बेद कुमार ढकालका अनुसार बाह्रसिंगाको अनुवांसिक विविधता बृद्धि गर्न यो बर्ष बर्दियामार अर्को बर्ष चितवनमा बाह्रसिंगा स्थानान्तरण गर्ने कार्यक्रम रहेको बताए । शुक्ला फाँटा आरक्षमा २०१३ मा भएको गणनाअनुसार २ हजार ३०१ बाह्रसिंगा छन् । ‘यो संख्या विश्वको सवैभन्दा ठूलो हो’ बाह्रसिंगा कै बिषमा विद्यावारिधी गरिरहेका संरक्षण अधिकृत यादव भन्छन, ‘बर्दिया राष्ट्रिय निकुञ्जमा १ सय ५ बाह्रसिंगा छ, शुक्लाबाट गएका बाह्रसिंगा उनीहरुसंगै मिसिनेछन ।’


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.