-->
फलफूलमा विषादी परीक्षण गर्ने प्रविधि नहुँदा स्वास्थ्य जोखिम बढ्दो

जेष्ठ २३, २०७३- ‘बालबच्चा र बूढाबूढीले खाने हुन् भने त विचार गर्दा हुन्छ है सर आँप किन्नुअघि,’ राजधानीको नारायणगोपाल चोक नजिकमा फलफूल पसलेले संवाददातालाई दिएको सुझाव हो यो ।

आँपको सिजन सुरु भएपछि खोज्दै जाने क्रममा यस्तो अभिव्यक्ति पहिलोपटक सुनिएको हो र त्यो पनि पसलेबाटै । उनले आँफूलाई धेरै थाहा नभए पनि कुनै रसायन नहालेको भन्नेमा ढुक्क हुन सकिरहेका थिएनन ।

भारतीय समाचार माध्यमका अनुसार त्यहाँ आँपलाई पकाउन क्याल्सियमा कार्बाइड नामको रसायन हाल्ने गरिएको छ । मौसम सुरु हुँदै गर्दा मुलुकभित्र भारतीय आँप पनि भित्रिन थालेका छन् ।

तर, भारतबाट होस् वा यहीं पनि छिटो नाफा लिन रसायन हालेर पकाएको हो वा होइन भनी परीक्षण गर्ने प्रविधि मुलुकभित्र छैन । यसले बिक्रेता निर्धक्क बेचिरहेका छन् भने सर्वसाधारणको स्वास्थ्यमा जोखिम बढ्दो छ ।

भारतबाट आयात हुने फलफूल मुख्यत: कालिमाटी फलफूल तथा तरकारी बजार, कुलेश्वर छेउ वागमती किनारको फलफूल कारोबार हुने ठाउँ र बल्खु तरकारी बजारमा भित्रिन्छ । तरकारी तथा फलफूलमा बिषादी प्रयोग भए–नभएको जाँच्न कालिमाटीमा प्रयोगशाला भए पनि फलफूलको सबैभन्दा धेरै कारोबार हुने ठाउँमा भने प्रयोगशाला छैन ।

नेपालमा बिक्री वितरण हुने तरकारी तथा फलफूलमा प्रयोग हुने विषादीको परीक्षण बाली तथा संरक्षण निर्देशनालयको मातहतमा रहेर कालिमाटी तरकारी बजारमा रहेको इकाईले गर्छ ।

इकाईले तरकारी तथा फलफूलमा प्रयोग हुने थरीथरीको विषादी भए पनि दुई प्रकारको मात्र परीक्षण गर्ने गर्छ । तर, आँप, केरालगायतका फलफूल पकाउन प्रयोग हुने कार्बाइड परीक्षण गर्ने प्रविधि भने मुलुकभरि कहीं पनि छैन ।

‘बालि सरक्षणले एग्रो फोस्पेट र कार्बन कार्बोइडको परीक्षण गर्छ,’ निर्देशनालय प्रमुख डिल्लीराम शर्माले भने, ‘आँपमा प्रयोग हुने क्याल्सियम कार्बाइडको परीक्षण हुँदैन ।’ उनका अनुसार करिब ७० प्रतिशत तरकारी र फलफूलमा एग्रो फोस्पेट मिसाइन्छ । क्याल्सियम कार्बाइडको परिक्षण खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गर्ने शर्माले बताए ।

खाद्य प्रविधिका प्रवक्ता प्रवक्ता पूर्णचन्द्र वस्तीले भने खाद्यान्न प्रोसेस्ड फुडको मात्रै परीक्षण गर्ने बताए । ‘तरकारी तथा फलफूलको गुणस्तर परीक्षण बाली संरक्षण निर्देशनालयले गर्ने हो,’ उनले भने, ‘खाद्यले गर्दैन ।’

खाद्यले प्याकिङ गरिएका खानेकुरा परीक्षण गर्दै आएको उनले बताए । दुई/चार पैसाको लोभमा राजधानीमा बिक्रेताले हानिकारक रसायन प्रयोग गरी आँप पकाउने गरेका छन् । जसको कुनै पनि सरकारी वा गैरसरकारी क्षेत्रबाट निगरानी हुने गरेको छैन ।

‘उपत्यका भित्रने धेरै आँपमा विषादी हालिएको छ,’ राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले भने, ‘हेर्दा पहेलो लोभलाग्दो हुन्छ तर हानिकारक छन् ।’

आँपको मुख्य सिजन असार हो । तर, राजधानीमा वैशाख अन्तिमदेखि नै पाकेको आँप भित्रिसकेको छ । कलिलो आँपलाई रसायन प्रयोग गरेर पकाइएकाले मुख्य सिजनअगाडि नै बजारमा आँप भेटिएको उपभोक्तावादीहरूको दाबी छ ।

जानकारहरूका अनुसार आँपमा दुई तरिकाले यो रसायन प्रयोग गरिन्छ । गोदाममा सटर लगाउनुअघि एउटा भाडामा क्याल्सियम कार्बाइड राखेर थोरै पानी राखिन्छ । कार्वाइडमा पानी परेपछि उम्लेर ग्यास बन्छ । ग्यासले कोठाको तापक्रम बढाउँछ ।

कोठामा थुनेर राखेको आँप दुई तीन दिनभित्रै पाक्छ । यसैगरी रसायनलाई आँप हालेको झोलमा छर्केर पनि व्यवसायीले फलफूल बिक्री गर्दै आएका छन् ।

‘उपत्यकाको माग धान्न अधिकांश फलफूल बाहिरबाट आउँछ,’ कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक तेजेन्द्रप्रसाद पौडेलले भने, ‘केरा नेपालभित्रैबाट आए पनि आँप भारतबाट समेत आउँछ ।’

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीव कर्णले स्वदेशीभन्दा अन्य मुलुकबाट भित्रिएको आँपमा हानिकारक रसायन मिसाइने बताए । ‘नेपालमा कार्बाइड प्रतिबन्धित छ । प्राकृतिक रूपमा मात्रै पकाउन पाइन्छ,’ उनले भने, ‘खासगरी पारिबाट आउने आँपमा समस्या छ ।’

उनका अनुसार कार्बाइड हरियो आँपमा राखेको हुन्छ । औषधि प्रयोग गरेको आँप दुई दिनभित्रै पहेलोबाट कालो हुन्छ । तर, प्राकृतिक रूपमा पाकेको आँपमा कुनै परिवर्तन हुँदैन । लामो समयसम्म खराब हुँदैन ।

यस्ता रसायनको प्रयोगले तिर्खा लाग्ने, कमजोरी अनुभव हुने, आँखा पाल्ने, छालामा अल्सर, कफ, टाउको दुख्ने, सोच्ने शक्ति कम हुनेलगायतका स्वास्थ्य समस्या आउने विज्ञहरू बताउँछन् । खाद्य विज्ञ गंगा खरेलले क्याल्सियम कार्बाइडले मानव स्वास्थ्यमा गम्भीर असर गर्ने बताए ।

‘यसको धेरै प्रयोगले क्यान्सर र आन्द्रासम्बन्धी रोग लाग्छ,’ उनले भने, ‘खानेलाई मात्र होइन धेरै असर त फलफूल पकाउन प्रयोग गर्नेलाई गर्छ ।’ उनले फलफूल पकाउनेले समेत नबुझेर रसायन प्रयोग गरिरहेको बताए ।

फलफूल व्यवसायी संघले भने उपत्यकामा कुनै पनि आँप विषादी नभएको दाबी गरेको छ । ‘करिब ६ वर्षदेखि विषादी आँप बिक्री/वितरण बन्द गरेका छौ । बजारमा विषादी आँप छैन,’ संघका कार्यसमिति सदस्य भरत खनालले भने, ‘कुनै व्यवसायीले विषादी आँप भित्र्याउँछ भने खोलामा फाल्छौं ।’

उपत्यकामा बिक्री हुने आँप नेपालकै रहेको उनको दाबी छ । ‘भारतको आँप उपभोक्ताले रुचाउँदैनन्, बिक्दैन । भारतको आँप न्यून छ,’ उनले भने, ‘उपत्यकामा पाइने आँप तराई (सिरहा, सप्तरी र धनुषा) को हो ।’

व्यापारीले पैसा कमाउने नाममा यस्तो लापरबाही गरे पनि सरकारले भने मौन भएर बसेको छ ।

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित सम्बन्ध विभागले मूल्य र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गुणस्तरको अनुगमन हेर्नुपर्ने व्यवस्था छ । अनुगमनको क्रमा ठगी गर्ने व्यवसायीलाई सबै ऐन/कानुनअनुसार कारबाही गर्न सकिन्छ ।

महानिर्देशक कर्णले अहिले देखिएको समस्या भन्सार बिन्दुबाटै नियन्त्रण गर्नुपर्ने बताए । ‘पहिलो आँप परीक्षण गर्दा कार्बाइड प्रयोगको स्वरूप परिवर्तन हुन्छ, प्रयोग गरे/नगरेको पत्ता लगाउन सकिंदैन,’ उनले भने, ‘भन्सार बिन्दुमै नियन्त्रण गर्नुपर्छ । यसका लागि भन्सारका कर्मचारीसग सहकार्य जरुरी छ ।’

भन्सार जाँच/पास हुँदा आँप हरियो हुन्छ । भन्सार बिन्दुमै परीक्षण हुँदा कार्बाइड पत्ता लाग्ने कर्णले बताए । विभागअनुसार कार्बाइड हालेको आँप एकनासले पाकेको हुँदैन । आँपमा कालो धब्बा हुन्छ । काँचो आँपमा धूलोहरू देखिन्छ ।



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.