-->
नेमार र काकाले कोपा अमेरिका नखेल्ने


ब्राजिलका चर्चित स्ट्राईकर नेमारले अमेरिकामा शनिबारबाट शुरु कोपा अमेरिका फुटबल प्रतियोगिता नखेल्ने भएका छन् । 
 
नौ पटक उपाधि जित्दै दौडमा रहेको ब्राजिलबाट उनीसँगै राफिन्हा र अर्का चर्चित स्ट्राईकर काकाले पनि कोपा अमेरिका गुमाएका छन् ।

नेमारले अगस्टमा हुन लागेको रियो ओलम्पिकमा प्रतिस्पर्धाको तयारीका लागि कोपा अमेरिका फुटबल प्रतियोगितामा सहभागिता नजनाएका हुन् । 

उनकै क्लब बार्सिलोनाका खेलाडी २३ वर्षीय राफिन्हाले पनि घाइते भएका कारण कोपा अमेरिका गुमाएका छन् । ३४ वर्षीय स्ट्राईकर काका पनि उपचारका क्रममा रहेकाले कोपा अमेरिका खेल्ने छैनन् । 

पाँच पटकको विश्वबिजेता ब्राजिलले सन् २००७ यता कोपा अमेरिकाको उपाधि उचाल्न सकेको छैन । ब्राजिलले ग्रुप ए को खेलमा आइतबार इक्वेडरसँग प्रतिस्पर्धा गर्दैछ । 

विश्वकै पुरानो कोपा अमेरिका फुटबल प्रतियोगिताको सतवार्षिकीको अमेरिकामा जारी प्रतियोगितामा यो पटक १६ वटा दक्षिण अमेरिकी देशले प्रतिस्पर्धा गरिरहेका छन् । 

अमेरिकाले पहिलो पटक आयोजना गरिरहेको यो प्रतियोगितामा अघिल्लो प्रतियोगिताको साविक विजेता चिली र उपविजेता अर्जेन्टिनाले मंगलबार प्रतियोगिता अन्तरर्गत आफ्नो पहिलो खेलमा प्रतिस्पर्धा गर्दैछन् । 

आजै भएको खेलमा कोलम्बियाले आयोजक अमेरिकालाई २–० ले स्तब्ध पार्दै सुखद सुरुवात गरेको छ । 

अघिल्लो सालको विश्वकप र कोपा अमेरिका गुमाएका अर्जेन्टाइन स्ट्राईकर लियोनेल मेस्सी देशलाई १४ औं पटक कोपा अमेरिकाको उपाधि दिलाउने योजनामा छन् । 

अर्कातिर १५ पटक उपाधि उचालिसकेको उरुग्वे पनि लुइस स्वारेज र एडिन्सन काभानी जस्ता खेलाडीको साथमा १६ औं पटक कोपा अमेरिकाको उपाधि उचाल्ने दाउमा छ । 

सतवार्षिकीको अवसरमा यो पटक कोपा अमेरिकामा दक्षिण अमेरिका भन्दा बाहिरका ४ वटा देश थपिएको छ । 

सहभागी देशहरु 
समूह एः  अमेरिका, कोलम्बिया, कोस्टारिका र पाराग्वे
समूह बीः ब्राजिल, इक्वेडोर, हाइटी र पेरु 
समूह सीः मेक्सिको, उरुग्वे, जमैका र भेनेजुएला
समूह डीः अर्जेन्टिना, चिली, पनामा र बोलिभिया 




0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.