-->
रोनाल्डोले विपक्षी खेलाडीसँग हात मिलाएनन्


असार १ – पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोले आइसल्याण्डको टिमले साँघुरो मानसिकता प्रदर्शन गरेको बताएका छन् । 
युरोकपको पहिलो खेलमापोर्चुगल आइसल्याण्डसँग १–१ को बराबरीमा रोकियो । खेल सकिएपछि आइसल्याण्डका खेलाडीले गरेको सेलिब्रेसन युरोकपको उपाधि नै जिते जस्तो रहेको र यो अविश्वशनीय भएको रोनाल्डोले बताए । 
यसले उनीहरुको साँघुरो मानसिकता प्रदर्शन गरेको रोनाल्डोको भनाई छ । खेलबाट केही पनि प्राप्त गर्न योग्य नभएपनि आइसल्याण्डको टिम भाग्यमानी भएकाले एक अंक जोडेको रोनाल्डोले बताए । उनले भने ‘उनीहरुले खेल अवधि भर डिफेन्स मात्रै गरे, उनीहरुले साँघुरो मानसिकता प्रदर्शन गरे । मेरो विचारमा उनीहरु प्रतियोगितमा अघि जाने अवस्था छैन ।’ 
आफूहरुले सक्दो प्रयास गरेको तर नतिजाले आफूहरुलाई केही निराश बनाए पनि अरु खेल बाँकी रहेकाले चिन्ता गर्नु पर्ने अवस्था नरहेको रोनाल्डोको भनाई छ । उनले भने ‘हामीले सक्दो प्रयास गर्यौं, बल अधिकांश समय हाम्रो नियन्त्रणमा थियो । आइसल्याण्डले केही गरेन, बस डिफेन्स मात्रै गरिरह्यो । उनीहरुका लागि यो रात भाग्यवान बन्यो । हामीले तीन अंक नै पाउनु पर्ने थियो तर एक अंक नै भएपनि ठिकै छ ।’ 
रोनाल्डो खेल सकिन पाँच मिनेट बाँकी हुँदा फ्रि हेडरमा गोल गर्नबाट चुकेका थिए । नानीले ३१ औं मिनेटमा गोल गर्दै दिलाएको सुरुवाति अग्रता आइसल्याण्डका किर्किर बजार्नासनले गोल गरेपछि बराबरीमा रोकिन बाध्य भयो । गोल गर्ने दुई अवसर सृजना गर्नु र एक गोल गर्नु बाहेक आइसल्याण्डको टिमले खेलमा अरु केही खासै गर्न नसकेको रोनाल्डोको भनाई छ । 
रोनाल्डोको यो राष्ट्रिय टिमबाट एक सय २७ औं सहभागिता हो । उनले लुइस फिगोले राष्ट्रिय टिमबाट गरेको सर्वाधिक सहभागिताको कीर्तिमानसँग बराबरी गरेका छन् ।
खेल अवधिभर बलमा नियन्त्रण पोर्चुगलको ७२ प्रतिशत थियो भने २६ पटक पोस्ट प्रहार गरेको थियो । आइसल्याण्डले भने चार पटक मात्रै पोस्ट प्रहार गर्न सकेको थियो । रोनाल्डोले खेल सकिएपछि मैदानबाट निस्कने क्रममा आइसल्याण्डका एक खेलाडीसँग मात्रै हात मिलाएका थिए । 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.