-->
काजकिरिया सकियो तर श्रीमानको मृत्यु भएको विश्वास लाग्दैन

दुर्गाप्रसाद भट्टराई/सर्लाही ।

जेठ २२ – विदेशबाट कोहि आयो कि श्रीमान आए जस्तै लाग्छ रौतहट गैडाटारकी पासाङ लामालाई । विदेशबाट आएका मान्छे देख्ने वित्तिकै अजयले अब छिट्टै नेपाल फर्किन्छु भनेको याद आउँछ अनि जुरुक्क उठेर दाया बाया हेर्नुहुन्छ । तर अजय देखिन्नन् ।

२०६५ सालमा प्रेम विवाह गरेकी पासाङलाई छोडेर अजय २०७० सालमा मलेसिया जानुभएको थियो । १ लाख ३० हजार रुपैयाँ तिरेर गएका अजयले तीन महिनामा ७० हजार रुपैयाँ पठाउनु पनि भयो । त्यतिबेला पासाङ पनि खुसी हुनुहुन्थ्यो । तर त्यो खुसी चार महिनाभन्दा धेरै लम्बिन पाएन । चौथो महिनामा अजय उच्च रक्तचापले काम गर्दा गर्दै ढलेर खोक्दा पनि रगत आउने खबर पाउनुभयो पासाङले ।

अचानक बिरामी परेपछि अजयले कम्पनीमा पनि हारगुहार गर्नुभयो तर सहयोग पाउनुभएन उल्टै ७ दिनभित्र नेपाल फर्किनु भन्यो । त्यतिबेला परिवारबाट आसा गरेजस्तो सहयोग नपाएको बताउने पासाङले मलेसियामा रहेका अजयका सरोदर भिनाजु कमान सिंहलाई गुहार्नुभयो । तर भिनाजुको जवाफ पनि पासाङले सोचेको भन्दा निक्कै फरक भयो । भन्नुहुन्छ ‘आशा धेरै थियो तर उहाँले सजिलैसँग भागेर काम गर्नु भन्देउ न भन्नुभयो ।’

कम्पनीले गरेको असहयोगले भिनाजुकै सुझाव ठिक हो जस्तो लागेर अजयले गर्दै गरेको कम्पनी छोडेर दुई महिनासम्म लुकेर पनि काम गर्नुभयो । तर तेस्रो महिनादेखि पहिलेकै रोगले च्यापेको सुनाउनुभयो अजयले ।

परदेशमा आफ्नो भन्ने भिनाजु कमान सिंह नै हुनुहुन्थ्यो अजयको । त्यसैले अजयले मलेसियाबाट र पासाङले नेपालबाट कमान सिंहलाई गुहार्नुभयो । त्यसपछि अस्पताल भर्ना गरेको छ भनेका कमानसिंहले त्यही खबर मात्रै दिइरहे तीन महिनासम्म । ‘फोन गर्दैपिच्छे अवस्था त्यस्तै छ भन्ने जवाफ मात्रै आउँथ्यो’ पासाङ भन्नुहुन्छ । 

तर त्यसको तीन महिनापछि पासाङलाई कल्पनै नगरेको खबर आयो ‘अजयको उपचार गर्दा गर्दै ज्यान गयो ।’ यो खवर सुनेको दुई वर्ष भइसक्यो तर पनि पासाङलाई यो खवरको विश्वास लागेको छैन । 

किनकी उहाँले ज्यान गएका श्रीमानको लास देख्न पाउनुभएन । कमानसिंहले चाडै नै अस्पतालको प्रकृया पूरा गरेर लास नेपाल पठाउने भन्नुभएको थियो तर लास आएन । श्रीमान लास झिकाइदिन आग्रह गर्दै पासाङ काठमाडाैँको रहेको वैदेशिक रोजगार उद्दार नेपाल भन्ने संस्थामा पनि पुग्नुभयो । 

संस्थाले २५ सय रुपैयाँ सेवा शुल्क लिएर १५ दिनमा लास नेपाल झिकाउने आश्वासन दियो । तर त्यो आश्वासन पूरा भएन । यही बिचमा पासाङ म्यानपावरमा पनि पुग्नुभयो तर भागेर काम गरेकोले अजयको लास नेपाल ल्याउन नसक्ने भन्दै म्यानपावर पन्छियो । संस्था र व्यक्ति गुहार्दै ४० दिन वितेपछि भिनाजु कमान सिंहले फोन गर्नुभयो तर लास आउँदैछ भनेर होइन लास मैले बुझेर जलाएँ भनेर । पासाङले भन्नुभयो ‘मृत्यु भएको प्रमाणपत्र अस्पतालसँग माग्दा प्रहरीले समात्न खोज्यो त्यही भएर मैले त्यो प्रमाणपत्र पनि पाउन सकिन भन्नुभयो ।’

अजयको मृत्यु भएको खबर ज्वाईंले नै दिएपछि परिवारले डेढ महिनापछि काजकिरिया पनि गर्यो तर पासाङलाई अझै पनि श्रीमानको मृत्यु भएको जस्तो लाग्दैन । ‘मलाई अब छिट्टै नेपाल फर्किन्छु भनेकै कुरा आइरहन्छ’ पासाङ भन्नुहुन्छ ‘ मरेको कसरि मान्नु लास देखेको छैन ।’

श्रीमान गुमाएकी पासाङले विदेशमा करार अबधि भित्र  मृत्यु भएको प्रमाण पत्र नहुँदा वैदेशिक रोजगार प्रबर्धन बोर्ड र विमा कम्पनीबाट पाउने १० लाख बराबरको क्षतीपूर्ति पनि नपाएको सर्लाहीको हरिऔनमा रहेको सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रकी मनोसामाजिक परामर्शकर्ता सरिता कुमारी लामाले बताउनुभयो । त्यसैले सूचना केन्द्रको पहलमा दुई जना छोरा छोरीलाई ढुग्रेखोलामा रहेको न्यु भिजन बोडिग स्कुलले निशुल्क पढाइदिरहेको छ ।

अजयको अबस्थाको बारेमा वैदेशिक रोजगार विभागमा सूचना केन्द्र मार्फत फोन गरि बुझ्दा विदेशमा मृत्यु भएको ब्यतिको लास आफन्तले बुझ्न पाएतापनि उतै जलाउन नपाउने कुराको जानकारी थाहा पाएपछि पासाङलाई आफ्नो श्रिमान् जिउँदै हुनु हुन्छकि जस्तो मनको एउटा कुनामा लाग्दछ ।  

अजयको अबस्थाको बारेमा कमान सिहंसँग पासाङले कुराकानि गर्न खोज्दा मर्ने मरिगयो अब यस बारेमा कुराकानि नगर भन्नु हुन्छ । परिवारको सदस्यहरुपनि अजयको मृत्युलाई लियर कमान सिहंसँग कुराकानि गर्दा रिसाउने गर्नु हुन्छ । मसँग बोलचालनै बन्द गर्नुहुन्छ । उहाँहरुको बिचारमा छोरा मरि हाल्यो ज्वाईसँग किन नराम्रो हुनु भन्नु रहेको छ । परिवारको सदस्यले पासाङको कुरामा सहमति नजनाएपछि अहिले पासाङ सर्लाहीको ढुग्रेखोला गाविसमा रहेको माइतमा बस्नु हुन्छ । 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.