-->
यी हुन् माओवादीबाट दोस्रो चरणमा मन्त्री बन्ने ५ भाग्यमानी


माओवादी केन्द्रले दोस्रो चरणमा पार्टीबाट पाँच जना मन्त्रीको नाम तय गरेको छ । अाइतबार प्रधानमन्त्री तथा माअोवादी अध्यक्ष पुष्पकमल दाहालले पार्टीको तर्फबाट दोस्रो चरणमा सरकारमा सहभागी हुने ५ जना मन्त्रीको नाम तय गरेका हुन ।

दाहालले अाफ्नो किचेन क्याबिनेटका केही नेताहरूसँग अाफूले छानेका मन्त्रीका विषयमा छलफल समेत गरेका थिए । 'मोटामोटी रूपमा अध्यक्षले मन्त्रीको नाम फिक्स गरिसक्नुभयो,' दाहालको किचेन क्याबिनेटका एक प्रभावशाली नेताले भने नेपालीपत्रसँग भने, 'तीन राज्यमन्त्री बनाउने विषयमा पनि छलफल भइरहेको छ । मधेशका सन्दर्भमा भने केही कुरा मिल्न बाँकी छ ।'  

जसमा माओवादी पूर्व सैन्य प्रमुख जनार्दन शर्मा ‘प्रभाकर’ले उर्जामन्त्री हात पारेका छन् । उनी पहिलो पटक माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा सरकार बन्दा शान्ति तथा पूनर्निर्माण मन्त्री भएका थिए । शर्मा बाहेक दाहाल सरकारमा मन्त्री बन्ने सौभाग्य पाउने अरु सबै नयाँ अनुहार हुन् । 

ती नेताकाअनुसार माओवादीले एक महिला, एक मधेश र एक जनजाति गरी तीन जना राज्यमन्त्री पनि अाजै चयन गर्ने तयारी गरेको छ । दाहालले छानेका नयाँ ५ मन्त्रीहरूलार्इ अाजै सपथ गराउने तयारी गरेका छन् । यस्ता छन् दाहालले छानेका नयाँ ५ मन्त्रीः 

१. जनार्दन शर्मा
रुकुममा प्रभावशाली युवा नेता हुन् जनार्दन शर्मा ‘प्रभाकर’ । दोस्रो संविधानसभामा पार्टीले देशब्यापी पराजय ब्यहोरिरहँदा पनि रुकुम—२ शर्माले विजय हासिल गरेका हुन् । पहिलो संविधानसभामा पनि उनले सोही क्षेत्रबाटैं जितेका थिए । 

युद्धकालमा जनमुक्तिको सेनाको कमिसार हुँदैं कमाण्डर बनेका उनी कुनै समय माओवादीको प्रमुख फौजको डेपुटी कमाण्डर थिए । पार्टीभित्रका प्रभावशाली नेता मानिने शर्मा अध्यक्ष प्रचण्डका विश्वासपात्रै होइनन्, उनको क्याम्पका प्रमुख खम्बा नै मानिन्छन् । 

शान्ति प्रक्रियामा आइसकेपछि प्रभाकर पहिलो संविधानसभापछि प्रचण्ड नेतृत्वमा बनेको सरकारमा शान्ति तथा पुनर्निर्माण मन्त्रीका रुपमा रहिसकेका छन् । प्रचण्ड क्याबिनेटमा मन्त्री छानिनुअघि उनी सार्वजनिक लेखा समितिका सभापति रहेका थिए । 

प्रचण्डलाई सिंहदबारसम्म पु¥याउनका लागि ट्रयाक खोल्ने काममा प्रभाकरको भूमिका महत्वपूर्ण मानिएको छ । यसअघि महरासँगै शर्माले पनि उपप्रधानसहित अर्थ मन्त्रालय दाबी गरेका थिए । तर, उनले उर्जामन्त्रीका रुपमा सपथ लिनेछन् ।


२. राम कार्की 

कुनै समय बाबुराम भट्टराईका अनुयायी थिए—राम कार्की । तत्कालीन नेकपा माओवादीभित्र बाबुरामको सैद्धान्तिक खेमामा रहेर उनले पार्टीभित्र उनको लाइनलाई समृद्ध गर्ने काम 
गरे । 

वौद्धिक र तार्किक नेता मानिने कार्की बाबुराम प्रधानमन्त्री बनेपछि भने उनीबाट टाढिएका हुन् । बाबुरामले निकट रहेर लामो समय सघाएपनि प्रधानमन्त्री बन्दा आफूलाई टिममा नराखेपछि उनी असन्तुष्ट बनेका थिए । 

बाबुरामको आफूलाई ‘चौकालदर्शी’ ठान्ने बानीबाट रुष्ट भएका कार्की एक पटक नयाँदिल्लीका लागि राजदूतमा सिफारिस समेत भएका थिए । तर, भारतले उनको एग्रिमो नपठाएपछि उनी राजदूत हुन पाएनन् । 

अहिलेको सरकारमा राम कार्की सूचना तथा सञ्चारमन्त्रीका रुपमा सपथ लिनेछन् । पार्टी संसदीय राजनीतिमा फर्केको लामो समय बितिसक्दा पनि कार्कीले आफ्नो क्षमताअनुसार कुनै महत्वपूर्ण भूमिका पाएका थिएनन । त्यसैले अवसर नपाएका नेताका रुपमा उनलाई मन्त्री परिषद्मा लग्ने तयारी माअोवादीले गरेको छ । 

३. हितराज पाण्डे 

२० वर्ष लामो शिक्षक विरासतबाट भूमिगत राजनीतिमा लागेका पाण्डे गोरखा—२ बाट निर्वाचित सांसद हुन् । माओवादीभित्र सैन्य फाँटमा कमिसारको भूमिका समेत निर्वाह गरिसकेका उनी प्रचण्ड निकट नेताका रुपमा चिनिन्छन् । 

बाबुराम भट्टराईकै जिल्लाका भएपछि पाण्डे प्रचण्डलाई सधैं सहयोग गरे । ६२ वर्षीया पाण्डेले नेकपा (चौम)बाट राजनीतिक यात्रा सुरु गरेका हुन् । पार्टीभित्र इमान्दार छविका नेताका रुपमा चिनिने पाण्डेले युद्धमै आफ्ना छोरा गुमाएका हुन् । 

अहिले उनी माओवादी केन्द्रको प्रमुख सचेतकको जिम्मेवारीमा छन् । पाण्डे अहिलेसम्म सरकार नगएका कारण नयाँ अनुहार हुन् । यसका साथै शहीद परिवार पनि भएकाले पनि पाण्डेले स्थानीय विकास मन्त्रीका रुपमा सपथ लिनेछन् ।

३. डिआर पौडेल 

२०३७ सालदेखि विद्यार्थी पृष्ठभूमीबाट वाम राजनीतिमा लागेका हुन्, चितवनका डिआर पौडेल । २०३९ सालमा अखिल क्रान्तिकारीको जिल्ला सदस्य बनेका थिए । 

निवर्तमान शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले नेतृत्वको गरेको अनेरास्ववियु क्रान्तिकारी केन्द्रीय सदस्य भएका हुन्, पौडेल । २०४२ सालमा नेकपा चौमको पार्टी सदस्य भएका उनी २०४४ सालमा चितवन जिल्ला सदस्य भएका थिए । 

२०४७ सालमा जनवादी युवा लिगको संस्थापक केन्द्रीय सदस्य भएका पौडेल एकताको केन्द्रको केन्द्रीय सदस्य समेत रहिसकेका हुन् । एकताकेन्द्र माओवादीसँग एकीकरण भएपछि बनेको नेकपा एमाओवादीको केन्द्रीय सदस्य भएका पौडेल त्यसयता निरन्तर माओवादी केन्द्रमा छन् । 

हाल उनी नेकपा माओवादी केन्द्रको सचिवालय सदस्य हुन् । पौडेल दोस्रो संविधानसभापछि बनेको संसदमा समानुपातिक तर्फका सांसद समेत हुन् । चितवन निवासी पौडेल दाहाल क्याबिनेटमा नेता नारायणकाजी पक्षबाट शिक्षा मन्त्री बन्न सफल भएका हुन् । यदि कांग्रेसले शिक्षा मन्त्रालय दाबी गरेमा उनले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी लिने बताइएको छ । 

यसअघि श्रेष्ठ पक्षबाट मन्त्री बन्दैं आएका गिरिराजमणि पोखरेल पटक—पटक मन्त्री बनिसकेपछि पौडेलको पालो आएको हो ।


५. अजयशंकर नायक 

माओवादीभित्र नयाँ अनुहारका रुपमा क्याबिनेटमा मन्त्री पड्काउने अर्का भाग्यमानी हुन्—अजयशंकर नायक । यसअघि मधेशभित्रका प्रभावशाली नेता मानिने प्रभु शाह मन्त्री हुने चर्चाकाबीच मधेशको प्रतिनिधित्व गर्ने पात्रमा अजयशंकर छानिएका हुन् । 

२०५४ सालदेखि भूमिगत राजनीतिक सुरु गरेका उनी सिरहाको बडहरमाला गाविसका स्थानीय बासिन्दा हुन् । अहिले माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य रहेका उनले समाजशास्त्रमा स्नातक गरेका छन् । 

८ कक्षादेखि नै अखिल क्रान्तिकारीबाट राजनीतिक सुरु गरेका अजयशंकर पार्टीमा एरिया सदस्य, एरिया सेक्रेटरी, एरिया इन्चार्ज हुँदैं जनयुद्धकालमा जिल्ला इञ्चार्जको भूमिका निभाएका थिए । 

दोस्रो संविधानसभामा उनी समानुपातिकतर्फका सांसद हुन् । दाहाल स्वयंम सिरहाबाट सांसद जितेका कारण उक्त जिल्लालाई क्याबिनेटमा समेटनुपर्ने आवश्यकता महसुस गरेर अजयशंकरलाई मन्त्री बनाइएको हो । 

उनी दाहाल क्याबिनेटमा कानुनमन्त्रीको जिम्मेवारी सम्हाल्ने बताइएको छ । यसअघि प्रभु शाहले कानुनमन्त्री सम्हाल्ने बताइएको थियो तर उनले स्थानीय विकास मन्त्रालय मागेपछि उनको ठाउँमा अजयशंकरलाई मन्त्री बनाउने तयारी माओवादीले गरेको हो । तर, अजयशंकरको नाममा अझै विवाद कायमै छ । 




0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.