-->
तारा खसेको अन्तिम रात (पढ्नुस तपाईको आँसु रोकिने छैन )

                           
jodi
पर –पर हिमाली चुचुरासम्म टहटह जुनको मधुरो उज्यालो,निलो आकाशमा गुजमुज्ज ताराहरु, असोजको भरी चन्द्रमाले बस्ती कति राम्रो देखिएको ? आँगनका पहेंला हजारी फुलहरु, बार्दलिमा माहुरीको घार आज हामी बास बसेको ठाँउ निक्कै रमाईलो थियो ।

हामी कोठाबाट बाहिर निस्कियौं । चारैतिर हेरियो, जुनेली रातको साथ थियो । आँखाहरु त्यसै–त्यसै रोमाञ्चित थिए । कुन्नी किन हामीलाई अँध्यारो कोठामा एक अर्काको आंलिगन भन्दा बाहिरै रमाउने चाहानाले घच्घचायो । चिसो हावाका झोक्काहरुको बेजोडको हिर्काइलाई आनन्दपूर्वक ग्रहण गर्यौं हामिले । जुनेली रातमा योद्धाले मेरो हात समाएका थिए ।

उनले जिस्क्याँउदै भने सेतो पछ्यौरीको घुम्टोभित्र पनि साँच्चै जुन भन्दा राम्रि छ्यौ तिमि । म पनि पुलपुलिए छु । हजुर पनि ऊ त्यो सेतो सैपाल हिमाल झैं राम्रो नि । म हिमालजस्तै अटल रहन्छु मेरो दायित्व र जिम्मेवारीले, तर म अनयाशै सेती झैं बग्छु पनि तिम्रो सम्झनाले ।
यति नभन्दै उनले निक्कै जोड्ले च्यापे, कपाल सुम्सुम्याए । बिरंगना तिमिलाई कहिले काँही दिग्दार लाग्छ होला ? एक्लो महशुस हुन्छ होला ? पत्रहरु त हरेक महिनाको एक पटक पठाउने गर्छु हातमा पुग्छ कि पुग्दैन ? डाँको छोडेर रुन मन लाग्यो, आँखाबाट अचानक आँसु बर्बराए ।
गएका आठ महिनामा जम्मा जम्मी ३ ओटा पत्रहरु प्राप्त गरेकी छु । भक्कानो फुट्यो कुन्नी किन हो आफुलाई सम्हाल्नै सकिन । एकैछिन अघिको रोमाञ्चक क्षण एकाएक गंभिरतामा परिणत भयो । हिक्क हिक्क भएछ । योद्धाले आँसु पुछिदिए । आफ्नै पछ्यौरीले आफ्नै आँसु, आफ्नै मान्छेले पुछिदिएको त्यहि क्षण मेरो जिन्दगिको असिम प्रित थियो ।

युद्धका कठिन दिनहरुमा हामीले मुठ्ठी उठाएर गरेको बिहे एक अनुरागको औपचारिकता थियो । समाज, उमेर र चाहानाको समिश्रण परम्परा थियो । यद्यपि संस्कार फरक थियो । जुनेली रातमा तल–तलका फाँटहरु, सुदुरका हिमालहरु, पारी–पारीका जङ्ल,भिरपाखा र पखेराहरु हेर्दै कहिले रोमाञ्चित र कहिले गंभिर हुँदै हामीले भबिष्यको कल्पना गर्यौं ।

बर्गीय युद्धको आलोकमा गोली र बारुदको धुँवा भित्र पनि हामीले भोलीको सत्ता परिवर्तन पछि सामाजिक प्रतिष्ठा सहितको सुखदपूर्ण जीवनको परिकल्पना गर्यौ । एकापसमा कहिल्यै नछुट्ने बाचा र प्रतिबद्धता दोहोर्यायौं । अहो त्यो त्रास त्यति लामो समय योद्धाले मलाई कहिले आँलिंगनमा लिए, कहिले आँसु पुछिदिए ,मेरो टाउकोलाई छातिमा टाँस्दै उनले युद्धका थुप्रै कठिन घडिहरुको बिवरण सुनाए । तर उनको हातबाट प्वाँल परेको त्यो हतियार सायद एस एम जी भन्थे जसलाई अहँ छुटेन ।

त्यो हतियारले घरि–घरि घोच्थ्यो मलाई, मेरो असजिलो उनले पनि महशुस नगरेका होइनन् । तर एक छिन पनि त्यसलाई हातबाट पर राखिएन । मैले योद्धालाई जिस्कँदै भने तपाईको हतियार र म मध्य एउटा रोज्नुपर्दा कुन रोज्नुहुन्छ ? उनले भने तिमिलाई त म छोड्नै सक्दिन तर हतियार बिना पनि सुरक्षित रहन्न । त्यसकारण यो जटिल र अनावश्यक प्रश्नमा हामीले आफ्नो सरल जीवन दाँज्न जरुरी छैन ।

सायद उल्काबर्षा हो । आकाशबाट अनवरत उल्काहरु खसिरहेका थिए । योद्धालाई भने अँ प्रकृति पनि कति बिचित्रको हगि पुरै ताराहरु खसिरहेकै छन् यति खसेका ताराहरु कहाँ जान्छन भोली फेरि आकाश रित्तो हुँदैन । जवाफमा योद्धाले हास्दै भने तिमि पनि कहिलेकाँही त दार्शनिक झैं गंभिर वन्छ्यौ त्यो पनि बह्माण्डको रहस्यबारे । तर त्यो चाँही तारा हैन लाटि उल्का हो त्यो । तारा खसेपछि त फेरि कहाँ फर्किन्छ र ? एकचोटी गइसकेपछि कुनै बस्तुको पुनरावृति असंभव हुन्छ । मत सोच्दिन धेरै यस्ता कुरा लडाईको सिपाहि न परें ।

उनको नाम योद्धा हो र युद्ध मोर्चाहरुमा उनले साँच्चै आफुलाई योद्धाकै रुपमा प्रमाणित गरेका थिए । मलाई बिरंगना भन्थे म त कोमल र भावुक रहेछु । खास परिस्थितीमा सङ्गठनले मलाई शाहसी र लडाकु स्वभावको भनेर जिम्मा दिने गथ्र्यो म कडा पनि थिएँ जब योद्धासंग गंभिर र रोमाञ्चित मुडहरुमा गफिन थाल्थे मेरो मुटु काँप्थ्यो । कहिं योद्धा मोर्चामै ………….भने ।

जीवनका धेरै भावनाहरु साँटासाँट पछि हामी कोठा भित्र पस्यौं । साथीहरुले मिलाईदिएको त्यहि सेल्टरमा जहाँ हामीले आजको रात बिताउनु थियो । परालको बिछ्यौनामा पल्टियौं । हामीसंगका स्लिपिङ ब्यागहरु पन्छायौं । उनको फौजी झोलामा एउटा कम्बल थियो । घरका च्यातिएका बिछ्यौनामाथि त्यहि कम्बल र कम्बलमाथि मैले बोकेको तन्दा बिछ्याउँदै त्यहि सेतो पछ्यौरी जसको घुम्टोमा मलाई जुन भन्दा राम्री देख्थे योद्धाले ओढेर जिउ ढाक्यौं ।

बिहान साढे तीन नबज्दै कसैले ढोका ढकढकायो । आवाज आयो क. योद्धा फर्मेसन सुरु भो हिडौं । हामी जर्याक जुरुक उठ्यौं । योद्धाको कम्बल मिलायर उनको निलो टाटेपाटे फौजी झोलामा राखिदिंए । हामी खासमा एक झिमिक पनि ननिदाएको रात थियो त्यो । योद्धा गए । पर– पर सम्म पल्टनमा मिसिएर अगाडी लागे उनि आँखाको नजरले भ्याएसम्म हेरिरहें । मनमा त्रास बढ्न थाल्यो कहिं मेरो योद्धालाई केहि भयो भने ……..। मनमा अन्तरद्धन्द्ध हुन्थ्यो यस्ता कुरा पनि किन सोचिरहनु बेकार । तर अर्को मनले फेरि त्यहि कुरालाई उचाल्थ्यो । उनको अन्तिम पत्र पुसमा प्राप्त भयो ।
पत्रमा लेखिएको थियो ।

पृय बिरंगना युद्ध मोर्चाको न्यायो अभिवादन ।
आजका मितिसम्म कुशल छु र आगामी दिनमा पनि कुशल रहने आसामा छु तर युद्धभूमी हो भन्ने कुरालाई पनि हामिले बिर्सन हुँदैन ।

घरमा बुढा बा–आमा संग भेट नभएको झण्डै छ महिना भयो तिमिसंग पनि तीन महिना त भएछ क्यारे । जिन्दगीका अनगिन्ती मोड र घुम्तीहरु पार गर्दै हामी न्यायका घमाइला दिनहरुको प्रतिक्षामा रहौं । न्याय, समानता र स्वतन्त्रताका बसन्तहरु नआएसम्म हाम्रो यात्रा जारी छ ।

बर पिपलको चौतारीमा रातो टोपी सहित मार्च पाश गर्दै हामी नयाँ सत्ताको सन्देश लिएर घर फर्कने छौं। जीवन त्यहि आशामा बाँचेको छ ।

तिमिसंग संगै बस्ने रहर नभएको होइन तर हामी हस्तनापुरीको लडाईमा छौं । तिमी प्रतिको असिम प्यार कसरी ब्यक्त गरु । प्रिय बिरंगना मनलाई ढुंगा बनाउने कोसिश गर्छु फेरि पनि कहिलेकाँही कपास झैं नरम बन्न खोज्छ ह्रृदय । तिम्रो कोमल ह्रृदयलाई पनि दह्रो बनाउने कोसिश गर्नु । प्रिय हामी जीबनका कठिन घडिहरुमा छौं । हाम्रो दृष्टीको ऐनाले भोका नाङ्गाहरुको दारुण चित्र अघिल्तिर राखिदिएको छ ।

समाजको रुग्ण अनुहार पन्छाएर ब्यक्तिगत सुख सुबिधाको कल्पना गर्न नसक्ने स्कुलिङबाट अब मुक्त हुन असंभव छ । सामाजिक जीवनका पिडा, भोगाई र अनुभवहरु नै हाम्रो साझा भावना हो तिनलाई समाधान नगरिकन उम्किने नैतिक ताकत नै कहाँ छ र हामीसंग ? त्यसैले हामी समाजको मुहार फेर्दै नमुनाका रुपमा आदर्श जोडीको हैसियतमा जीवन बाँच्ने छौं मलाई आशा छ प्रिय बिरंगना तिम्रो सोचाई यसभन्दा पृथक कदापि रहने छैन । चाहे तिमिमाथि सगरमाथा नै किन घोप्टियोस ? चाहे तिम्रा सपनाहरुमाथि बैरीले बमबाड किन नगरुन ? तिमि थाक्ने छैनौ, झुक्ने छैनौ । यहि अथक यात्रामा नै हामी फेरि भेट्ने छौं । उहि तिम्रो आत्मिय ……योद्धा , बाँकी ………….।

पेट्मा योद्धाले छोडेको नासो हुँर्कदै थियो । घरि बान्ता र रिंगटा चल्थ्यो । खान र बस्नको सुबिधा हुने कुरै भएन । त्यतिञ्जेल सबै पिडाहरु लुकाउने कोसिशमै थिए । तर योद्धाको पत्र कहिं भावुक र कहिं बिचारोत्तेजक थियो । युद्ध रोमान्सको झलकले पनि यदाकदा संकेत गथ्र्यो ।

त्यहि पत्र पटक–पटक दोहोर्याएर पढिरहें । आँखाबाट फेरि आँसु झरिहाल्यो । बसेको घरको आँगनको डिलमा बसेर पत्र पढीरहँदा आँसु संगै वान्ता सुरु भयो । रिंगटा चल्यो । त्यस घरकी आमाले मेरा सबै गतिबिधिलाई नियालेकि थिइन सायद । आमैले आएर नानी किन रुनु पेट्मा बच्चा छ जस्तो छ , पत्र पठाउने मान्छेलाई बरु थाह दियौ कि दिएनौ । होइन आमै बच्चा सच्चा केहि छैन मलाई सन्चो नभएको मात्र हो ।

ढाँट्न हुन्न अब सबैलाई थाह हुने बेला भइसक्यो । आमैले भनिन सन्तोकले बस्नुपर्छ । मिल्छ भने पार्टीबाट बिदा लिएर माइती पोइली कता बस्ने बसे हुन्छ । बरै हिडिरहने मान्छे तिमीलाई गाह्रो भो नानी । आमैको बोली आमाको जस्तै लाग्यो भक्कानो छुट्यो । रुँदै भित्र पसे । एक छिन बिसेक जस्तो भयो पत्र लेखें योद्धालाई । पेट्मा रहेको उनको नासो बारे जानकारी गराउँदै चाँडै भेट्न आग्रह गरें । माघ, फागुनसम्म पत्रको जवाफ आएन ।

मन बिरक्तिदै जान्थ्यो सम्हाल्थे आफैंलाई । चैतमा एकै चोटी योद्धाको शाहदतको खबर रेडियो जनगणतन्त्र सेती महाकालिबाट सुनें । बेचैनीका दिनहरु सुरु भए । एक मनले बिश्वास गरिसकेको छैन । मध्य चैतमा पत्र पुग्यो उनि शहिद भएको । मेरो जिन्दगीमाथि बज्रपात भयो । ७ महिनाको बच्चा पेट्मा छ । माइतिघरमा सौतेनी आमा थिइन उनि उहिल्यै त देखि रुचाँउथिनन् । यस्तो अवस्थामा त झन के जानु ? योद्धाको घर देखेकै छैन ।

छोराको मृत्युपछि आएकी आइमाई बारे उसका बा–आमाले के भन्लान र समाजले के भन्ला ? अब यहि पार्टीले जे भन्यो त्यो गर्नु बाहेक मेरो बिकल्प थिएन । बच्चा जन्म्यो जेनतेन हुर्काउँदै छु । १२ बर्ष पछि उल्काबर्षा भयो भन्छन्। मेरो सम्झनाबाट १२ बर्ष अघि तारा खसेको अन्तिम रात कहिल्यै मेटिने छैन । १२ बर्ष पछि खोला पनि फर्कन्छ भन्थे अँ हँ आफ्नो त बाह्र जुनि पछि पनि भन्न सकिन्न । मेरो भुन्टे पनि १२ टेक्दैछ । गिट्टी कुटेर छाक टारेकी छुु यसको ।

पढ्न पाएको छैन, बाबा देखेको छैन, यसको कतै पाइला टेक्ने र मेरो भन्ने ठेगान छैन । चोरी गर्छकी पाकेट मार्छ ? कुनै गलत धन्दामा लाग्नु बाहेक यसको बिकल्प नै के छ र ? यो हुँर्किदै गयो तनाब झन बढ्दै छ । अहिले नै यसलाई जेलका अँध्यारा छिडिहरुमा उभिएको सपना देख्छु । यसको बाबाको मृत्युबारे आएको पत्रले अहिले सम्म पिडा दिएकै छ , यो कुन दिन जेल पर्यो भने मेरो हबिगत के होला ? कुन सडकमा बौलाउँदै हिड्नु लेखेको छ मेरो भाग्यमा ? उफ ……..हजारौं लासहरुमाथि हाँसेको सरकारलाई मेरो पिडा बारे के थाह ?

- Source: suchanakendra


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.