प्रचण्डको ६ सदस्यीय क्याबिनेट, लडाकु कमाण्डरदेखि विवादित अनुहारसम्म
काठमाडौं—नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीका ३ जना र सत्ता गठबन्धनको प्रमुख साझेदार नेपाली कांग्रेसका २ जना मन्त्रीहरु लिएर सानो आकारको ‘क्याबिनेट’ गठन गरेका छन् ।
बुधबार संसदबाट नेपालको ३९ औं प्रधानमन्त्रीमा निर्वाचित भएका दाहालसँगै उनको क्याबिनेटका ५ जना मन्त्रीहरुलाई बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ ग्रहण गराएकी छन् ।
दाहालको क्याबिनेटका ५ मन्त्रीमध्ये ३ जना पूराना अनुहार हुन् भने दुई जना नयाँ अनुहार रहेका छन् । स्व. सुशील कोइराला क्याबिनेटमा भाैतिक योजना तथा निर्माणमन्त्री हुँदा ‘फास्ट ट्रयाक’ भारतीय कम्पनीलाई दिनैपर्ने अड्डी कसेर विवादमा तानिएका विमलेन्द्र निधिले उपप्रधान तथा गृह मन्त्रालय पड्काएका छन् । उनी कांग्रेसको तर्फबाट नेतृत्व सरकारमा गर्दै दाहाल नेतृत्वको सरकारमा सहभागी भएका हुन् ।
यस्तै विवादमा तानिएका माओवादी नेता कृष्णबहादुर महराले पनि उपप्रधानसहित अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन् । पूर्व श्रममन्त्री रमेश लेखकले भौतिक योजना मन्त्रालयको बागडोर सम्हालेका छन् । माओवादीको तर्फबाट दाहालको क्याबिनेटमा मन्त्री बनेका गौरीशंकर चौधरी र दलजित श्रीपाइली पूर्व लडाकू कमाण्डर हुन् ।
समग्रमा दाहाल नेतृत्वको क्याबिनेटको अनुहार यस्तो छ ः
१. विमलेन्द्र निधि, उपप्रधान तथा गृहमन्त्री
गृहमन्त्रीका रुपमा सपथ ग्रहण गरेका विमलेन्द्र निधि २०१३ साल असोज १० गते धनुषाको नगराईनमा जन्मिएका हुन् । नेपाली कांग्रेसमा मधेशमा विपी विश्वासपात्र मानिने पुराना नेता महेन्द्रनारायण निधिका छोरा हुन् उनी ।
बुवाको लिगेसीमा राजनीति गर्ने नेताका रुपमा उनको छवि कांग्रेसभित्र स्थापित छ । निधिले वि.सं. २०२६ सालदेखि राजनीति सुरु गरेका हुन् । उनी नेपाली कांग्रेसको भातृ संगठन नेविसंघको राजनीतिक पृष्ठभूमीबाट आएका हुन् ।
कांग्रेस सभापति शेरबहादुर देउवालाई पार्टी विभाजनदेखि नै साथ दिदैं आएका निधी उनका सबैभन्दा विश्वासपात्र मानिन्छन् । त्यसैले देउवाले उनलाई पार्टीको तर्फबाट सरकारको नेतृत्व गर्ने जिम्मेवारीसहित वर्तमान सरकारमा प्रभावशाली गृहमन्त्रालयको जिम्मेवारीमा पठाएका हुन् ।
सामान्य प्रशासन मन्त्री, उद्योग तथा वाणिज्य मन्त्री, शिक्षा तथा खेलकुद मन्त्रीजस्ता मन्त्रालय कार्यभार सम्हालेपनि निधिको छवि धुमिल छ । उनी स्व. सुशील कोइराला नेतृत्वको सरकारमा भौतिक योजना तथा निर्माण मन्त्री हुँदा भारतको प्रभावमा परेर ‘फास्ट ट्रयाक’ राष्ट्रहित विपरित भारतीय कम्पनीलाई दिन कम्मर कसेर लागेका थिए । जसका कारण निधिलार्इ भारतपरस्तको अारोप लागेको थियो ।
निधिले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् । निधि २०६४ तथा २०७० को संविधानसभा निर्वाचनमा धनुषा क्षेत्र नम्बर ३ प्रत्यक्षतर्फ निर्वाचित भएका थिए । उनका दुई छोरा छन् ।
उनले ओली सरकार गिराएर दाहालको नेतृत्वमा नयाँ सरकार गठनका लागि पनि लामै दौडधुप गरेका थिए ।
२. कृष्णबहादुर महरा ‘अमरसिंह’, उपप्रधान तथा अर्थमन्त्री
प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को क्याबिनेटका रहने भनिएका दुई उपप्रधानमन्त्रीमध्येका एक हुन्—उपप्रधान तथा अर्थमन्त्रीका रुपमा सपथ लिएका कृष्णबहादुर महरा ।
रोल्पाका स्थायी बासिन्दा हुन्, महरा । २०४८ सालमै रोल्पा—२ मा मशालबाट चुनाव लडेर उनले सांसद जितेका थिए ।
५८ वर्षीय महरा २०६४ सालमा भने दाङ—३ बाट संविधान सभामा विजयी भएका थिए । दोस्रो संविधानसभा निर्वाचनमा भने उनी रोल्पा १ बाट विजयी भए । महराले यसअघि उपप्रधान तथा गृहमन्त्री र सूचना तथा संचारमन्त्रीको कार्यभार समेत सम्हालिसकेका छन् ।
कुनै समय माओवादीभित्रका प्रखर र स्वच्छ छवि भएका नेता मानिने महरा पछिल्लो समयमा सरकार परिवर्तन, चिनियाँहरुसँगको भएको भनिएको आर्थिक लेनदेन, अख्तियार र धार्मिक आस्थासँग जोडिएर विवादमा आए । जसका कारण उनको उक्लदैं गरेको छवि क्रमसः ओरालो लाग्यो ।
वार्ता प्रक्रियामा सक्रिय भूमिका, माओवादीको महासचिवसम्मको भूमिका बहन र पार्टीभित्रको सन्तुलनकारी भूमिकाका कारण महरालाई प्रचण्डले मन पराउँछन् । पछिल्लो समयमा उनलाई प्रधानमन्त्री बनाउने ‘डिजाइन’ पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग मिलेर महराले नयाँदिल्ली भ्रमणका क्रममा तयार पारेको बताइन्छ ।
उपप्रधान तथा अर्थमन्त्रीको बन्ने दौडमा उनले आफ्नै पार्टीका प्रभावशाली नेता जनार्दन शर्मा ‘प्रभाकर’लाई उछिनेका हुन् ।
३. रमेश लेखक, भौतिक योजना तथा निर्माणमन्त्री
दाहाल क्याबिनेटमा भौतिक योजना तथा निर्माण मन्त्रालयजस्तो प्रभावशाली मन्त्रायलको जिम्मेवारी पाउने भाग्यमानी नेता हुन्—रमेश लेखक । सुदूरपश्चिमको कन्चपुरका लेखक कांग्रेस सभापति देउवाका विश्वासपात्र मानिन्छन् ।
वकालत पृष्ठभूमीका लेखक २०४७ सालदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहेका छन् । लोकतन्त्र वहालीसँगै बनेको गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारका श्रममन्त्री भएका थिए । उनी वि.सं. २०५६ सालमा संसदीय निर्वाचनमा कन्चनपुर ३ बाट सांसद बनेका थिए । संविधान दोस्रो निर्वाचनमा उनले कन्चनपुर ४ बाट विजय हासिल गरेका थिए ।
त्रिभुवन विश्वविद्यालयबाट उनले कानुनमा स्नातक र राजनीतिकशास्त्रमा स्नाकोत्तर गरेका छन् । सुदूरपश्चिमका अर्को नेता एनपी साउद पौडेल क्याम्प भएका कारण देउवाले लेखकलाई साउदको चेकका रुपमा प्रस्तुत गर्दै अघि बढिरहेका छन् ।
उनले वर्तमान कांग्रेस—माओवादी गठबन्धन सरकार निर्माणका लागि पनि सक्रिय भूमिका खेलेका थिए । त्यसैको परिणाम नै मान्नुपर्छ, लेखकले भौतिक योजना तथा निर्माणमन्त्रीको पद हत्याउन सफल भए ।
४. गौरी शंकर चौधरी ‘तारा’, कृषिमन्त्री
दोस्रो संविधासभामा कैलाली ४ बाट प्रत्यक्षतर्फ निर्वाचित भएका सभासद हुन् —गौरी शंकर चौधरी । सुदूरपश्चिम तथा थारु समुदायको प्रतिनिधी भएका कारण पनि गौरीशंकर दाहाल क्याबिनेटमा मन्त्रीका रुपमा प्रवेश पाएका हुन् ।
माओवादी केन्द्रभित्र सुदूरपश्चिमका प्रभावशाली नेताहरु सभासद् छैनन् । जसका कारण ३४ वर्षीय गौरी शंकरले कृषि मन्त्रीको पद पडकाएका हुन् ।
'तारा' उपनामले चिनिने उनी माओवादीको लडाकू विरासत बोकेका युवा सभासद हुन् । थारु र सुदूरपश्चिमलाई समेट्नुपर्ने आवाजलाई सम्बोधन गर्न माओवादी केन्द्र यी दुवै आवाजलाई निस्तेज पार्नका लागि पनि गौरीशंकरलाई मन्त्री बनाएको हो ।
यसअघि एमाले नेतृत्वको गठबन्धन सरकारमा सुदूरपश्चिमबाट कसैलाई नपारिएको भन्दैं माओवादीभित्र नेतृत्वको चर्को आलोचना भएको थियो । उनी माओवादी भित्रका ‘अनटेष्ट’ अनुहार हुन् ।
५. दलजित वि.क. श्रीपाइली ‘प्रशान्त’, युवा तथा खेलकुदमन्त्री
रुकुममा माओवादी नेता हुन्—दलजित वि.क. श्रीपाइली ‘प्रशान्त’ । कुनै समय माओवादी सेनाको कमिसारका रुपमा कार्यरत उनी पछि कमाण्डर भएका थिए ।
शान्ति प्रक्रियामा आउँदा दलजित ब्रिगेड कमाण्डर थिए । रुकुमका श्रीपाइली दलित कोटाबाट मन्त्री बनेका हुन् ।
उनलाई माओवादीले समानुपातिकमा सभासद बनाएको थियो । संविधानसभामा भएको कुर्सी तोडफोड काण्डमा पनि उनी लडाकूकै शैलीमा अग्रपंक्तिमा देखिएका थिए ।
प्रचण्ड क्याबिनेटमा उनले युवा तथा खेलकुद मन्त्रालयको कार्यभार सम्हाल्नेछन् ।
0 comments
प्रतिक्रिया दिनुहोस्...