भारतीय बाँधले १७ गाविस डुबाउने खतरा
नेपालगन्ज: भारतले सडकजस्तो देखिने गरी बनाएको बाँधले पानी थुन्दा नेपालगन्ज नगरपालिकाको भूभागसहित बाँकेका १७ गाविसका बासिन्दाले डुबानको मार व्यहोर्दै आएका छन् । स्थानीय प्रशासनले एक वर्षअघि नै गृहमन्त्रालयलाई भारतले सीमानजिक बनाएको सडक रूपी बाँधले पानी थुन्दा नेपालगन्जलगायत १७ गाविस डुबान पर्ने प्रतिवेदन पठाइसके पनि समाधानको कुनै पहल भएको छैन ।
डुबानका कारण हिरमिनिया, होलिया, बेतहनी, पिप्रहवा, राधापुर, साइगाउँ, भगवानपुर, उदयपुर, बनकट्टीदेखि नेपालगन्ज उपमहानगरपालिकासमेत प्रभावित हुने भएका छन् । लक्ष्मणपुर बाँधले समेत बाँकेका फत्तेपुर, गंगापुर, होलिया, बेतहनी, बनकट्टी, मटैया, कम्दीलगायतका गाविस प्रत्येक वर्ष डुबानमा पर्दै आएको प्रतिवेदनमा उल्लेख छ ।
गत वर्ष पोखरामा भएको नेपाल–भारतका उच्च अधिकारीको बैठकमा नेपालका तर्फ बाँकेका तत्कालीन प्रमुख जिल्ला अधिकारी वेदप्रकाश लेखकले सडक रूपी बाँधका कारण बाँकेको आधा भूभाग डुबान पर्ने भन्दै विकल्प भएपछि मात्र सडक निर्माण गर्न प्रस्ताव गरेका थिए । बैठकमा दुवै देशका प्राविधिकको अध्ययनपछि मात्र सडकको निर्माण अगाडि बढाउने मौखिकसहित भएको तत्कालीन प्रजिअ लेखकले जानकारी दिए । तर भारतले एकतर्फी रूपमा निर्माणकार्य आगडि बढाएर सडक पिचसमेत गरिसकेको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले सडक रूपी बाँधबाट हुने क्षतिको बारेमा गृहमन्त्रालय हुँदै भारत सरकारलाई समेत जानकारी भइसकेको बताए । सडक रूपी बाँधमा कलबर्ट र पुल अत्यन्तै कम भएका कारण पानीको प्राकृतिक बहाब रकिएर नेपाली भूभागमा पानी फर्कने भएकोले वर्षाको समय ठूलो क्षति हुनसक्ने उनले बताए ।
एक वर्ष दिनदेखि पालमुनि
गत वर्ष साउनमा आएको बाढीले कालाबन्जरका आधा दर्जन घर भत्किएका थिए । दसगजामा जोडेर भारतले एकतर्फी बनाएको सडक रूपी बाँधले पानीको प्राकृतिक बहाब रोकेपछि डुबानमा परेर घर भत्किएका हुन् । सरकारले केही सहयोग नगरेपछि त्रिपालमा एक वर्षदेखि बस्दै आएको डुबानपीडितले बताए ।
पीडित शान्तिदेवी चौहानले डुबानले घर भत्काएपछि त्रिपालमा बस्दै आएको बताइन् । आर्थिक अवस्था कमजोर भएकाले आफैँ घर बनाउन नसक्दा त्रिपालमा बस्नु परेको उनको भनाइ छ । उनले हावाहुरीले त्रिपालसमेत उडाएर लगेको बताइन् ।
‘सरकारले केही दिएन, बालबाच्चालाई पाल्न गह्रो छ, कसरी घर बनाउने ? ' शान्तिदेवी भन्छिन्, ‘हावाहुरीले त्रिपालसमेत उडायो, पानी आएको बेला त्रिपालबाट पानीभित्र पसेर बसिसक्नु हुँदैन ।' उनले पानी परेको दिन रातभर जाग्रम बस्ने गरेको बताइन् ।
उनले भातसमेत आँपको रूखको फेदमा पकाएर खाने गरेको बताइन् । उनले सरकारले कुनै सहयोग नगरेको गुनासो गरिन् । पीडित हरिद्वारप्रसाद चौहानले बाँधको डुबानले घर भत्किएको र लत्ताकपडा र खानेकुरा सबै बगाएको बताए । ‘न कपडा छ, न त खाने कुरा नै, सबै गत वर्षको बाढीले बगायो, मजदुरी गरेर परिवार पाल्दै छु', हरिद्वार भन्छन्, ‘पाँच फिट पानी थियो, बच्चालाई काँधमा राखेर ज्यान भने बचाइयो ।'
बाढीपीडित ६५ वर्षीया पुतलीदेवी चौहान भारतले सडक नबनाउँदासम्म डुबान नभएको बताउँछिन् । ‘भारतले रोड बनाएपछि डुब्न थालेको हो । पहिले डुबानमा परेको थिएन', उनले भनिन् ।
बालबालिकासहित उनीहरूले गत वर्ष पाँच दिनसम्म भारतले बनाएको बाध रूपी सडकमा भोकभोकै बिताएका थिए । यस वर्ष वर्षा सुरु भएकोले पुनः डुबानमा पर्ने भय र त्रासमा उनीहरू छन् । पीडित पुनम मौर्य भारतले सडक नै पक्की बनाइसकेकाले अझ धेरै डुबानमा गर्ने बताउँछिन् । उनले भनिन्, ‘यस वर्ष अझ के हुने हो केही थाहा छैन । पोहर कच्ची थियो । अहिले पक्की बनाइसक्यो ।' उनीहरूले सरकारले बाढीपीडितको पीडा नसुनेको गुनासोसमेत गरे ।
बाढीपीडितले भूकम्पपीडिततर्फ मात्रै सरकारको ध्यान गएको बताए । ‘हाम्रा पनि घर भत्किएका छन्, लुगा, भाँडाकुँडा, अन्न सबै बाढीले बगाएको छ । तर हामीलाई कसैले ध्यान दिएको छैन', पुनमले दुखेसो पोख्दै भनिन् । भारतले एकतर्फी रूपमा दसगजासँग जोडेर ३० मिटर चौडा, ५ मिटेर अग्लो पक्की सडक रूपी बाँध बनाएको छ ।
0 comments
प्रतिक्रिया दिनुहोस्...