चोरिएको बुद्धको प्राचीन मूर्ति भेटियो
भदौ ६, काठमाडौंः ललितपुरको नौदोबहालमा रहेको प्राचीन बुद्धको मूर्ति चोरी भएको झन्डै एक महिनापछि फेला परेको छ । चोरले गत साउन १० गते मन्दिरको ढोका फोडेर करिब चार सय वर्ष पुराना दुईवटा प्राचीन मूर्ति चोरेको थियो ।
महानगरीय प्रहरी परिसर ललितपुरले मूर्ति चोरीमा संलग्न तीनजनालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा रामेछाप गाउँसरा घर भई इमाडोल बस्ने मानबहादुर मगर, काभ्रे भीमखोरी घर भएर बनेपा बस्ने गणेशबहादुर श्रेष्ठ र दोलखा लाँकुरीडाडा घर भई बनेपा बस्दै आएका वासुदेव केसी भनिने मीनबहादुर खत्री छन् ।
प्रहरीका अनुसार उनीहरूलाई मूर्ति चोरी गर्न लगाउने गिरोह अर्कै छ । ललितपुर प्रहरीले तीनजनालाई पक्राउ गरेको दुई दिनपछि उनीहरूलाई काम लगाउने गिरोहले आइतबार बिहान चोरी भएको ठाउँ नजिकै प्लास्टिकको झोलामा मूर्ति राखेर भागेका थिए । स्थानीयले खबर गरेपछि प्रहरीले उक्त मूर्ति बरामद गरेको हो ।
‘मूर्ति चोर्न श्रेष्ठ र मगर ट्याक्सीमा आएका थिए । पाँचवटा ताला फोडेर मूर्ति चोरेपछि ट्याक्सीमा राखेर लगेको उनीहरूको बयानबाट खुलेको छ’, परिसरका प्रमुख एसएसपी पीताम्बर अधिकारीले भने, ‘तर उनीहरूलाई चोरी गर्न लगाउने गिरोह अर्कै छ ।’
परिसरका प्रवक्ता डीएसपी ईश्वर कार्कीका अनुसार यो घटना संगठित रूपमा गराएको अनुसन्धानले देखाएको छ । पक्राउ परेका तीनैजनाले अरूकै निर्देशनमा मूर्ति चोरी गरेको कार्कीले बताए । ‘मानबहादुर ट्याक्सी चालक हुन् । उनले चोरीको मूर्ति ट्याक्सीमा हालेर सम्बन्धित ठाउँमा पुर्याइदिएबापत २० हजार भाडा लिएको, गणेशले ३५ हजार र मीनबहादुरले एक लाख रुपैयाँ लिएको पाइएको छ । उनीहरूलाई परिचालित गर्ने गिरोह नजिक प्रहरी पुगिसकेको छ’, कार्कीले भने ।
चोरीको मूर्तिको मार्केट हङकङ र बैंकक रहेको प्रहरी दाबी छ । प्राचीन मूर्ति भएकाले अन्तर्राष्ट्रिय बजारमा यसको मूल्यको सीमा नरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले दुई थान बुद्धको प्राचीन मूर्ति, चाँदीको छत्र र सुन पाता भएको किकिपा, चाँदीको छत्र भएको किकिपा, चाँदीको सादा किकिपा, चाँदीको प्राचीन मोहरमाला, चाँदीको कमल फूल, चाँदीको कर्ण पाता, अपरादि फूलमाला, दीपपत्ता, सुनको जलप भएको बज्रा त्वा खाँ, कुण्डल, चन्द्रसूर्य अंकित कुण्डल, सुनको जलप भएको बुद्धको मुकुट बरामद गरेको छ ।आजको अन्नपूर्ण पोस्टमा समाचार छ।
0 comments
प्रतिक्रिया दिनुहोस्...