विराटनगर: ड्युटीमा खटिएका भारतीय सुरक्षाकर्मी पोसाकसहित नेपालतर्फ आउने क्रम बढेपछि मोरङको सीमावर्ती क्षेत्रमा निगरानी बढाइएको छ ।
मोरङ प्रहरी प्रमुख एसपी सन्दीप भण्डारीका अनुसार कुनै पनि देशका सुरक्षाकर्मीले पोसाक र हतियारसहित अर्को देशमा प्रवेश गर्न नपाउने नियमको पालना गर्न गराउन बिनाकाम पोसाकसहितका सुरक्षाकर्मी आउजाउमा कडाइ गरिएको हो । अन्जानमा पोसाकसहित आउने भारतीय सुरक्षाकर्मीलाई सम्झाई बुझाई गरेर फिर्ता पठाइने उनले बताए ।
'जानीजानी आउनेहरूलाई भने नियन्त्रणमा लिएर भारतीय उच्च सुरक्षा अधिकारीको जिम्मा लगाउँछौं,' उनले भने, 'नेपाली सुरक्षाकर्मीलाई पनि पोसाकसहित भारततर्फ नजान निर्देशन दिइएको छ ।'
नेपाल र भारतबीच हुने गरेका सुरक्षा सम्बन्धी बैठकमा पोसाकसहितका सुरक्षाकर्मी बिनाअनुमति छिर्ने गरेको विषय पटकपटक उठ्ने गरेको छ । पछिल्लो समय भएको दुई देशीय सुरक्षा अधिकारीबीचको बैठकमा भने सादा पोसाकमा मात्र आउजाउ गर्न दिने निर्णय भएको एक अधिकारीले बताए ।
'भारतीय सुरक्षाकर्मी नेपाल आएजस्तो नेपाली सुरक्षाकर्मी पोसाकसहित भारत जाँदैनन्,' एक नेपाली सुरक्षा अधिकारीले भने, 'जानै पर्ने अवस्था आयो भने अनुमति लिएर मात्र जाने गरेका छन् ।' उनका अनुसार सादा पोसाकमा आउजाउ गर्न भने नियम बाधक छैन ।
केही काम परेमा नेपाली सुरक्षाकर्मी सादा पोसाकमा भारततर्फ जाने गरेका छन् । 'हामी सुरक्षाकर्मीको पोसाक लगाएर जाँदै जाँदैनौं,' उनले भने । भारतका विशिष्ट व्यक्तिहरू नेपाल प्रवेश गर्नु पर्ने भएमा उनका अंगरक्षकले समेत हतियार र पोसाक उतै बिसाउनु पर्ने हुन्छ ।
Annapurna post
0 comments
प्रतिक्रिया दिनुहोस्...