-->
सिंहदरबार छिर्न पाएनन् तोकिएको पोशाक नलगाएका कर्मचारी

काठमाडौँ, चैत १४-

सामान्य प्रशासन मन्त्रालयले सिंहदरबारभित्र कार्यरत सबै निजामती कर्मचारीलाई अनिवार्य 


तोकिएको पोसाक लगाउनुपर्ने प्रावधान कार्यान्वयनलाई कडा तुल्याएको छ।

मन्त्रालयले कार्यालय प्रवेशका समयमा प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार प्रवेशका तीनवटै द्वारमा निजामती कर्मचारीले अनिवार्य रुपमा तोकिएको पोसाक लगाउनुपर्ने आचारसंहिता पालन भए नभएको अनुगमन गर्न उपसचिवको नेतृत्वमा कर्मचारी खटाएको छ ।

निजामती कर्मचारीलाई सरकारले पोसाकबापत वार्षिक रुपमा रु सात हजार ५०० भत्ता प्रदान गर्दै आएको छ । व्यवस्थापिका– संसद्, सुशासन तथा अनुगमन समितिको आजको बैठकमा वैदेशिक रोजगार विभाग र यातायात व्यवस्था कार्यालयमा कार्यरत ८० प्रतिशत कर्मचारीले तोकिएको पोसाक नलगाउने गरेको सामान्य प्रशासनमन्त्री रेखा शर्माले अनुगमनबाट देखिएको जानकारी दिइन्।

खासगरी सेवाग्राहीको भिडभाड हुने कार्यालयका कर्मचारीले तोकिएको पोसाक लगाएर नआउँदा बिचौलिया र कर्मचारीको पहिचान हुन कठिनाइ हुने गरेकोे बताउँदै सचिव टङ्कमणि शर्माले निजामती सेवामा रहेका कर्मचारीलाई जिम्मेवार तथा जवाफदेही बनाउन पोसाक अनुगमन सुरु गरिएको जानकारी दिए। पछिल्लो पटक मन्त्रालयले दुई दिन गरेको अनुगमनका क्रममा तोकिएको पोसाक लगाएर नआएका करिब ५४५ जनालाई सिंहदरबारको प्रवेशद्वारबाटै फर्काइएको छ।

मन्त्रालयले अनुगमनका लागि तीन वटै प्रवेशद्वारमा बिहान ९ः३० देखि ११ बजेसम्म कर्मचारी खटाएको सामान्य प्रशासन मन्त्रालयका शाखा अधिकृत रवीन्द्र मानन्धरले जानकारी दिए। सेवाग्राही आउँदा ‘को राष्ट्र सेवक कर्मचारी, को बाहिरको व्यक्ति’ भन्ने अन्योलका साथै तोकिएको पोसाक नलगाउने प्रवृत्ति बढ्दै गएकाले सिंहदरबारबाटै सुशासनमा योगदान पुगोस् भनेर पोसाक अनुगमन प्रारम्भ गरिएको मन्त्रालयले जनाएको छ ।

पोसाकको अनुगमनसँगै कर्मचारी कार्यालय समयमै उपस्थित नहुने प्रवृत्ति पनि अन्त्य हुने मन्त्रालयको भनाइ छ । अनुगमनका क्रममा अस्थायी कर्मचारीलाई पोसाक अनिवार्य नभएको हुनाले कतिपय स्थायी कर्मचारीले “म अस्थायी हुँ ” भन्दै प्रवेश गर्ने प्रयास गरेपछि अनुगमन टोलीले त्यस्तो कर्मचारीलाई थप केरकारसहित विस्तृत विवरण राख्न थालेको छ । रासस


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.