-->
सर्वसाधारण सोध्छन् – पुल बन्यो, गाडी कहिले गुड्छन् ? अप्रोच रोड र तटबन्धको काम नहुँदा सरकारको करोडौं लगानी सर्वसाधारणले उपयोग गर्न पाएनन्

चैत्र २४, २०७२- भनिन्छ, हात्ती छिर्याे , पुच्छर अड्क्यो ! ठीक यस्तै भएको छ, बारा जिल्लामा करोडौंको लागतमा बनेका दर्जनौं पुल निर्माणको योजनाका काममा । पुलका सबै संरचना निर्माण सम्पन्न भएपनि पुलको वारी र पारी ‘अप्रोच रोड’ अर्थात पुलमा टेक्ने सडक र तटबन्ध (रिभर ट्रेनिङ) को काम नहुँदा वर्षौदेखि पुलहरु उपयोगमा आएका छैनन् । 

एकाध पुल होइन, २५ करोडको लागतमा बनेका ६ वटा पुलको अवस्था उस्तै छ । कुल जनसंख्या सात लाखको तीन तिहाइलाई प्रत्यक्ष फाइदा पुग्ने यी पुलहरुमाथि गाडी गुड्न नसकेपछि सर्वसाधारणहरु निराश छन् । भन्छन्, ‘पुल बनेको वर्षौं भयो । तर गाडी गुडेनन् । कहिले गुड्ने ठेगान छैन् ।’ 

सडक विभाग, हुलाकी मार्ग योजना र जिविसबाट ठेक्का बन्दोबस्त भएका यी पुलहरुको अवस्था लथालिङ भएकाले सर्वसाधारणहरु चिन्तित देखिएका हुन् । ठेकदार र सरोकारवाला निकायको ढिलासुस्तीले पुलमाथि गाडी गुड्न नसकेको भगवानपुर गाविसका पुर्वअध्यक्ष उपेन्द्र जैसवालले बताए । सडक विभाग कार्यालय हेटौंडाका प्रमुख कमलेशकुमार कर्णले ठेकेदारको कमजोरीले पुलमा ठुलो लगानी भइसक्दासमेत उपयोगमा आउन नसकेको बताए । केही प्राविधिक समस्याले अधुरो रहन गएको काम तत्काल सम्पन्न गरिने उनको भनाइ छ ।

भगवानपुर १ का महेन्द्र राउत कुर्मी भन्छन्, ‘काम नसक्नुले पुलको महत्व नै छैन् । लथालिङ पाराको निर्माणले सर्वसाधारणको आउजाउदेखि कृषि र व्यापारिक कारोबार गर्ने उत्साह सपना झैं भएको छ ।’ जिविसका पूर्वसभापति छठु यादवका अनुसार पुलहरुलाई संचालनमा ल्याउन बाँकी काम भयो भने जिल्लाको भविष्य उज्जवल हुन्छ । 

‘सरकारको लगानीले पनि सार्थकता पाउँछ । तर कसैले चासो दिएका छैनन्,’ उनले भने, ‘त्यतिको काम नहुँदा मुख्य व्यापारिक केन्द्र वीरगन्जसहित ६५ गाविस र चार नगरपालिकाको व्यापारिक र यातायात सम्बन्ध जुट्न सकेको छैन् ।’ सडक विभागबाट निर्माण भएका कलैया–कटहरिया जोड्ने गन्जभवानीपुरस्थित पसाहा र सन्तपुर नजिकको लालबकैया खोलाको पुलको अवस्था उस्तै छ । लालबकैया पुलको पूर्व भागमा ठुलो खाल्डो भएकाले करोडौंको पुल बन्दा पनि गाडी गुड्न सकेको छैन् ।

यसैगरी सिमरा–डुमरवाना जोड्ने दुधौरा खोलाको पुल र वीरगन्ज जोड्ने कान्तिपुर बरैनियास्थित दुधौरा खोलाकै अर्को पुलको काम त्यो भन्दा फरक छैन् । यी पुलहरुको निर्माण कार्य सम्पन्न भएको वर्षौं बित्दा ‘अप्रोच रोड’ र तटबन्धको काम नहुँदा गाडी गुड्न सकेको छैन् । सडक विभागका इन्जिनियर मदनकिशोर साहका अनुसार साढे दुई करोडमा कान्तिपुर बरैनिया पुलको ठेक्का मृत सञ्जिवनी हेटौंडा, सिमरा–डुमरवाना जोड्ने दुधौरा पुलको ४ करोडको ठेक्का एलाइट/मोना जेभी कन्ट्रक्सन र कलैया–कटहरिया जोड्ने गन्जभवानीपुरको पसाहा पुलको ठेक्का ४ करोडमा एलाईट निर्माण कम्पनीले लिएको हो । 

यस्तै हुलाकी मार्ग योजनाअन्तर्गत पश्चिममा कलैया–वीरगन्ज र पुर्वमा रौतहट–सर्लाही जोड्ने जमुनी तथा तियरको पुल र मलाही–ढेढाकट्टी जोड्ने च्युटाँही पुलको काम सम्पन्न भइसक्दासमेत तिनै ‘अप्रोच’ र तटबन्धको काम नहुँदा पुल उपयोगमा आउन सकेको छैन् । यी तीनवटा पुलको ठेक्का क्रमश: ५ करोडमा हिराचन, अमर, अकेला जेभी, ४ करोडमा मोना, पप्पु–जेभी र ३ करोडमा पप्पु कन्ट्रक्सनले लिएको हो । यसै योजनाअन्तर्गत साढे दुई करोडमा बिटी टौदहले लिएको थलही पुलको निर्माणको अवस्था झनै् लथालिङ छ । 

जिविसका एक अधिकृतका अनुसार जिविसले स्थानीय विनोद साह निर्माण कम्पनीको नाममा ठेक्का बन्दोवस्त भएको कोल्हवी–बेलवा जोड्ने पुलमासमेत ‘अप्रोच रोड’ र तटबन्धको काम नहुँदा चार वर्षदेखि अलपत्र छ । बेलवाका स्थानीयबासिन्दा वासु चौधरी भन्छन्, ‘पुलमाथि कहिले गाडी गुड्छन् भन्ने सर्वसाधारणलाई आतुर छ । तर यति ठुलो लगानी गरेको निकायले हेल्चक्रयाईं गरिरहेको छ ।’ बाँकी काम गर्न ताकेता गर्दा ठेकदार र पुलमा लगानी गरेका निकायले एक अर्कालाई दोषारोपण गरिरहेको उनले बताए । 

उता निर्माण कम्पनीका ठेकदारले निर्माण सामाग्री झिक्न स्थानिय निकायले खोलामा रोक लगाएको र बन्द हड्तालले सामान जुटाउन नसक्दा समस्या भएको बताउँछन् । तर जिल्ला स्तरिय नदीजन्य पदार्थ (बालुवाढुंगा) अनुगमन समितिका संयोजक रहेका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुंगाना भन्छन्, ‘ठेक्का बन्दोवस्त नभएका योजनाको लागि मात्र स्थानिय निकायले निर्माण सामाग्रीको व्यवस्था मिलाइ दिन्छ । सरकारले पैसा तिरेर ठेक्का लगाई सकेको योजनामा ठेकेदारले स्थानिय निकायसित सामाग्री जुटाइदिने आश गर्नु गलत हो ।’ 

त्यस्तै सडक विभागकै लगानीमा दुई वर्ष अघि एलाइट/मोना जेभी निर्माण कम्पनीको नाममा ४ करोडमा ठेक्का बन्दोवस्त भएको बञ्जरिया–कलैया जोड्ने बंगरी खोलाको पुल र आश्रय निर्माण सेवा बसुन्धाराको नाममा ८ करोडमा ठेक्का बन्दोवस्त भएको कवहीगोठ–बेनौली जोड्ने तियर खोलाको पुलको काम फाउन्डेसनमै अड्केको छ ।





0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.